
नेपाल ए टोली साउथ अस्ट्रेलियासँगको अभ्यास एकदिवसीय खेलमा १३८ रनले पराजित भएको छ। १९ भदौ, काठमाडौंमा सम्पन्न खेलमा साउथ अस्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २५९ रन जुराएको थियो। दोजित होगनबूजमले १११ रनको शतक बनाएका थिए। नेपालले २६० रनको लक्ष्य पछ्याउँदै २२.१ ओभरमा १२१ रनमा अलआउट भयो। नेपालका लागि राशिद खानले ३७ रन बनाए भने मयन यादवले २० र दीपक डुम्रेले १८ रन थपे।
साउथ अस्ट्रेलियाका कप्तान स्पेन्सर जोनसनले ३ विकेट लिए। क्याम्पबेल थोम्सन र हेडन शिलरले २-२ विकेट लिए भने लाचलन बाङ्सले १ विकेट लिए। साउथ अस्ट्रेलियाले टस जितेर ब्याटिङ गर्दै होगनबूजमको शतकीय इनिङ्सको सहायताले २५९ रन बनाएको थियो। होगनबूजमले १२२ बलमा ४ चौका र ४ छक्का सहित १११ रन बनाएका थिए। नेपालका लागि राशिद खानले २ विकेट लिए भने रिजन ढकाल, नारायण जोशी, पवन सर्राफ र लोकेश बमले १-१ विकेट लिए।





