Skip to main content

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षमुनिका विद्यार्थीहरूलाई एआई प्रयोगमा अस्थायी प्रतिबन्ध

२० भदौ, काठमाडौं । अमेरिकाको न्युयोर्क सहरका सरकारी विद्यालयहरूमा १४ वर्षमुनिका विद्यार्थीहरूले जनरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्न अस्थायी रूपमा रोक लगाइएको छ । न्युयोर्कका मेयर जोहरान ममदानीले आगामी शैक्षिक सत्रदेखि प्राथमिक र मिडल स्कुलका विद्यार्थीलाई एआई प्रयोग गर्न नदिइने घोषणा गरेका छन् । यस निर्णयले करिब ६ लाख विद्यार्थीहरूलाई प्रभाव पार्ने छ । मेयर ममदानीले बालबालिकाको सिकाइ र विकासका लागि शिक्षक तथा मानवीय सम्बन्ध अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै यो घोषणा गरेका हुन्।

विद्यार्थीहरूले साथीहरूसँग सहकार्य गर्दै सीप विकास गर्ने, शिक्षकसँग सम्बन्ध स्थापना गर्ने र जटिल समस्याहरू आफैं समाधान गर्ने अवसर पाउनुपर्छ, उनी भन्छन्। जनरेटिभ एआई भनेको च्याटजीपीटीजस्ता प्रयोगकर्ताले दिएको निर्देशन वा ‘प्रम्प्ट’को आधारमा विभिन्न सामग्री तयार गर्ने प्रविधि हो । ममदानीले विद्यालयमा विद्यार्थीहरूको स्क्रिन समयसम्बन्धी नयाँ मापदण्डहरू पनि लागू गरिने जानकारी दिएका छन् । तीनदेखि पाँच कक्षासम्मका विद्यार्थीहरूको स्क्रिन समय दैनिक ३० मिनेटमा र ६ देखि ८ कक्षासम्मका विद्यार्थीका लागि ४५ मिनेटमा सीमित गर्ने सिफारिस गरिएको छ।

विद्यार्थीहरूलाई ‘कम्पेनियन च्याटबट’ प्रयोग गर्ने विषयमा पनि रोक लगाइएको छ। माध्यामिक तहका विद्यार्थीलाई वर्षमा दुई पटक एआईसम्बन्धी शिक्षा दिइनेछ भने वर्षभरि एआई शिक्षासम्बन्धी कार्यक्रमहरूको समीक्षा गरिनेछ। मेयर ममदानीले यो नीति अस्थायी रहेको बताएका छन्। नीति कार्यान्वयनको प्रभावकारिता एक वर्षसम्म निगरानी गरिनेछ र आवश्यक परेमा परिवर्तन गर्न सकिने बताएका छन्।