
भदौ १० गते आएको भोटेकोशी बाढीले क्षति पुर्याएका रसुवाका विभिन्न क्षेत्रमा डिशहोम र युटेलस्याट वनवेबले निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा शुरू गरेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति र समन्वयमा भदौ २०देखि सरकारी कार्यालय, सुरक्षा निकाय, उद्धार शिविर र समन्वय केन्द्रमा यस सेवा उपलब्ध गराइएको छ। कम्पनीले दूरसञ्चार पूर्वाधार मर्मत नभएसम्म आवश्यकताअनुसार थप उच्च प्राथमिकताका स्थानमा स्याटेलाइट इन्टरनेट विस्तार गर्ने जनाएको छ।
काठमाडौं, भदौ २३। भीषण भोटेकोशी बाढीबाट प्रभावित रसुवाका धेरै स्थानमा डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र युटेलस्याट वनवेबले निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराएका छन्। बाढीका कारण भदौ १० गते रसुवा जिल्लाका विभिन्न क्षेत्रको दूरसञ्चार र इन्टरनेट पूर्वाधारमा ठूलो क्षति पुगेपछि डिशहोमले प्रभावित क्षेत्रमा सञ्चार र सूचना आदानप्रदानलाई निरन्तरता दिन विशेष पहल अघि बढाएको हो।
नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) को स्वीकृति तथा समन्वयमा डिशहोमले युटेलस्याटसँगको सहकार्यमा बाढीबाट सबैभन्दा प्रभावित क्षेत्रमा निःशुल्क वनवेब स्याटेलाइट इन्टरनेट सेवा सञ्चालनमा ल्याएको जनाएको छ। उक्त सेवा भदौ २० गतेदेखि प्राथमिकताका आधारमा उपलब्ध गराउन थालिएको हो। प्राकृतिक विपद्का समयमा भरपर्दो सञ्चार सेवा उद्धार, राहत र समन्वयका लागि आवश्यक हुने भएकाले प्रभावित क्षेत्रमा रहेका सरकारी कार्यालय, सुरक्षा निकाय, उद्धार तथा राहत शिविर र महत्वपूर्ण समन्वय केन्द्रमा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
युटेलस्याट वनवेबको लो अर्थ अर्बिट (एलईओ) स्याटेलाइट प्रविधिमा आधारित यो सेवा बाढीका कारण क्षतिग्रस्त स्थानीय दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारको वैकल्पिक सञ्चार माध्यममा प्रयोग गर्न सकिनेछ। यसले सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय प्रशासन, उद्धारकर्मी र मानवीय सहायता तथा राहत कार्यमा संलग्न सरोकारवालाबीच सूचना आदानप्रदान, समन्वय र आवश्यक डेटा प्रवाहलाई निरन्तरता दिन सहयोग पुर्याउने कम्पनीले जनाएको छ।
डिशहोमले प्राकृतिक विपद्का कारण परम्परागत दूरसञ्चार तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा भरपर्दो वैकल्पिक सञ्चार माध्यम उपलब्ध गराउनु आफ्नो प्राथमिकता रहेको बताएको छ। प्रभावित समुदाय, सरकारी निकाय, सुरक्षा र उद्धारकर्मीलाई आवश्यक सञ्चार सुविधा उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको जनाएको छ। कम्पनीका अनुसार नेपाल दूरसञ्चार प्राधिकरण, सरकारी निकाय, सुरक्षा निकाय तथा स्थानीय सरोकारवालासँगको समन्वयमा प्रभावित क्षेत्रमा कनेक्टिभिटीको आवश्यकता र प्राथमिकताको मूल्यांकन भइरहेको छ।
दूरसञ्चार तथा इन्टरनेट पूर्वाधार पूर्ण रूपमा मर्मत र पुनःस्थापना नभएसम्म आवश्यकताअनुसार उच्च प्राथमिकतामा रहेका थप स्थानमा स्याटेलाइट इन्टरनेट सेवा विस्तार गरिदै जाने डिशहोमले जनाएको छ। डिशहोम र युटेलस्याट वनवेबले विपद्का समयमा प्रविधिको प्रभावकारी प्रयोगबाट आपत्कालीन सञ्चार, उद्धार र राहत कार्यमा सहयोग पुर्याउँदै प्रभावित समुदायको आपत्कालीन प्रतिरोधात्मक क्षमता सुदृढ बनाउन योगदान गर्ने प्रतिबद्धता जनाएका छन्।






