
जेनजी आन्दोलनका क्रममा देशभर दुई दर्जन होटलहरूमा आगजनी र तोडफोड हुँदा २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको होटल संघ नेपालले जनाएको छ। संघका अनुसार, क्षतिग्रस्त होटलहरू अधिकांश पुनर्निर्माण र सञ्चालनको अवस्थामा छन्, तर केहीले बीमा दाबी भुक्तानी नपाउँदा काम प्रभावित भएको छ। संघका अध्यक्ष विनायक शाहका अनुसार सरकारले स्पष्ट भिजन र गुरुयोजना नदिँदा होटल र पर्यटन क्षेत्र अझै अन्योलमा छ।
२४ भदौ, काठमाडौं। २३ र २४ भदौ २०८२ मा भएको जेनजी आन्दोलनका कारण देशभरका दुई दर्जन होटलमा आगजनी र क्षति पुगेको थियो। होटल संघ नेपाल (हान) का अनुसार यी होटलहरूमा कुल २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ। आन्दोलनको एक वर्ष पूरा हुन लागेको बेला समग्र होटल उद्योग पुनर्निर्माणको दिशामा अघि बढिरहेको छ। भौतिक क्षति पुनर्निर्माणको चरणमा छ भने धेरै होटलहरूले पुनः संचालन सुरु गरिसकेका छन्। कोषाध्यक्ष युवराज श्रेष्ठका अनुसार केही होटलहरू पुनर्निर्माणको अन्तिम चरणमा छन्। ‘धेरै होटल पुनर्निर्माण भइसकेका वा निर्माण भइरहेको छ,’ उनले बताए।
जेनजी आन्दोलनपछिको तत्कालीन अन्तरिम सरकारले व्यवसायी मनोबल बढाउन निरन्तर प्रयास गर्यो। शान्तिपूर्ण निर्वाचनपछि नयाँ सरकारले पनि व्यवसायीहरूलाई आशा दिएको छ। पर्यटन उद्योगमा थप चुनौतीहरू आए पनि व्यवसायीहरू उज्जवल भविष्यमा विश्वास राखेर लगानी गरिरहेका छन्।
आन्दोलनमा क्षति पुगेका होटलमध्ये प्रमुख एक, हिल्टन होटल पुनर्निर्माणको क्रममा छ। पूर्ण रूपमा जलेको हिल्टनको संरचनाको पुनर्निर्माण लगभग सकिएको र थप काम जारी रहेको होटल स्रोतले जनाएको छ। ‘सिभिल निर्माण पूरा भइसकेको छ, तर भूकम्प प्रतिरोधी ड्याम्परहरू पूर्ण रूपमा परिवर्तन गर्नुपर्नेछ, जसको अर्डर भइसकेको छ। साथै, बाहिरी भागका सिसाहरूको अर्डर पनि भइसकेको छ,’ स्रोतले बताए। बीमा दाबीको भुक्तानी अझै नपाईएकोले पुनर्निर्माण प्रक्रिया ढिलाइ भएको छ। ‘अर्को एकदेखि डेढ वर्षभित्र पुनर्निर्माण सकिनेछ र विस्तारको काम पनि सँगै भइरहेको छ,’ उनले थपे।
तत्कालीन सरकारले आगजनी र तोडफोडबाट प्रभावित व्यवसाय पुनः सक्रिय पार्न कर्जा पुनर्संरचना, सस्तो ब्याजदरमा कर्जा, बीमा दाबीको ५० प्रतिशत अग्रिम भुक्तानीजस्ता योजना ल्याएको थियो। कर तिर्ने समय थप गरिएको थियो। क्षति भएका वस्तु पुनः आयात गर्दा भन्सार छूटको योजना समेत ल्याइएको थियो। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालले प्रतिष्ठानहरू भ्रमण गरी व्यवसायीसँग भेटघाट गरि हौसला प्रवर्धन गरेका थिए।
हानका अध्यक्ष विनायक शाहका अनुसार तत्काल मनोबल वृद्धिका योजना भए पनि दीर्घकालीन रूपमा व्यवसाय पुनर्स्थापनामा अझै धेरै चुनौतीहरू छन्।
जेनजी आन्दोलनले होटल उद्योगमा कस्तो प्रभाव प¥यो? हानका तथ्यांक अनुसार काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ–विराटनगर, धनगढी, महोत्तरी, दाङ–तुल्सीपुर लगायत क्षेत्रका होटलहरूमा बढी क्षति पुगेको थियो। तोडफोड, आगजनी र लुटपाट भएका थिए। शंकर समूहको लगानी रहेको हिल्टन काठमाडौंमा आगो लागेको थियो। आन्दोलनका कारण २ हजारभन्दा बढी रोजगारी सिधामा परेको थियो।
काठमाडौं महानगर क्षेत्रमा रहेको पाँचतारे होटल तारागाउँ रिजेन्सी (हायात रिजेन्सी) मा पनि ठूलो क्षति भएको थियो। यो होटल नेपालमा धेरै आयकर तिर्ने र विदेशी मुद्रा संकलनमा अग्रणी हो। कांग्रेसका पूर्व सांसद राजेन्द्र बजगाईंको लगानी रहेको वर्णवास म्युजियम होटलमा पनि तोडफोड र आगजनी भएका थिए। आन्दोलनका कारण होटलहरूले धेरै कोठा खाली राख्नुपरेको थियो। सेप्टेम्बर सामान्यत: होटलको ‘पिक सिजन’ मानिन्छ, तर गत वर्ष ८ सेप्टेम्बरमा भएको आन्दोलनले ८० प्रतिशतभन्दा बढी कोठा खाली भएका थिए।
अध्यक्ष शाहका अनुसार यस आन्दोलनले होटल उद्योगमा सबैभन्दा बढी असर पर्ने पक्ष आत्मविश्वासमाथि परेको हो।
आगजनी भएका होटलहरूको पुनर्निर्माण कस्तो छ? वर्णवास होटल नजिकै पुनर्निर्माण धमाधम भइरहेको छ र छिट्टै सञ्चालनमा ल्याउने लक्ष्य छ। सो होटलमा आगजनीले ३० करोड रुपैयाँभन्दा बढी क्षति भएको छ। हायात रिजेन्सी पनि पुनर्निर्माण प्रक्रिया धमाधम भइरहेको छ र डिसेम्बरसम्म सञ्चालनमा आउने योजना छ। काठमाडौंको क्राउन प्लाजा होटल पुनर्निर्माणपछि पुनः सञ्चालनमा आइसकेको छ। पोखरामा क्षति पुगेका होटलहरूमा होटल एडम र बरपिपल सञ्चालनमा छन्। ल्याण्डमार्क होटल पनि सञ्चालनमा छ भने सरोबार होटल पुनर्निर्माण अन्तर्गत छ। बगैंचा रिसोर्ट पोखरामा सञ्चालनमा छ। बुटवलमा क्षति पुगेको ड्रिम इन्टरनेशनल र ड्रिमल्याण्ड गोल्ड रिसोर्ट पनि सञ्चालनमा छन्। पूर्वी नेपालमा झापाको होटल किङ्सवेरी र मेची क्राउन पनि सञ्चालनमा रहेका छन्।
केबुलकारमा गम्भीर क्षति, व्यवसाय भने द्रुत गतिमा फर्कियो आन्दोलनकारीहरूले देशका विभिन्न क्षेत्रका केबुलकारहरूमा समेत आगजनी र क्षति पुर्याएका थिए। नवलपरासीको मौलाकालिका केबुलकार गत मंसिरमा पुनः सञ्चालनमा आएको छ। आन्दोलनका कारण तल्लो स्टेशनमा भएको तोडफोड पनि मर्मत भइसकेको छ। चन्द्रागिरि केबुलकारमा पनि दुई महिनासम्म सेवा अवरुद्ध रह्यो तर आवश्यक मर्मत र सुरक्षा परीक्षणपछि पुनः सञ्चालनमा आएको छ। दैनिक दुई हजारभन्दा बढी पर्यटक चन्द्रागिरि केबुलकार प्रयोग गर्छन्।
नयाँ सरकारले पनि व्यवसायीहरूलाई आत्मविश्वास दिलाउन सकिरहेको छैन। होटल उद्योग मात्रै होइन, समग्र पर्यटन क्षेत्रले वर्तमान सरकारले कार्यान्वयन गरेका नीतिहरूबाट असन्तुष्टि जनाइरहेको छ। शक्तिशाली सरकारले लगानीकर्ताको धरपकड नीति अपनाएको र महत्वपूर्ण निकायहरूको नेतृत्वसमेत व्यवस्थित गर्न नसकेको छ। नेपाल वायुसेवा निगम संकटमा छ र नेपाल पर्यटन बोर्ड नेतृत्वविहीन छ। नीतिहरूमा आकर्षक नारा भए पनि बजेट र कार्यक्रमहरूले अनुकुलता पाएका छैनन्। हानका अध्यक्ष शाहले भने, ‘सरकार प्रयास गरिरहेको छ, तर स्पष्ट भिजन छैन।’
नेपालका होटलहरूमा वार्षिक ४० लाखभन्दा बढी पर्यटक समाउन क्षमता छ तर वर्तमानमा करिब १२ लाख मात्रै पर्यटक आउँछन्, त्यो पनि निजी क्षेत्रको प्रयासले मात्र सम्भव भएको हो। शाहले थपे, ‘यस सरकारले चाह्यो भने कुनै पनि समस्या समाधान गरेर देशलाई अगाडि लैजान सक्छ, त्यसैले पर्यटन क्षेत्रमा स्पष्ट भिजनसहित काम गर्नु अपरिहार्य छ।’
नेपाल जहिल्यै प्राकृतिक विपत्तिको जोखिममा रहन्छ, यस अवस्थामा विपत्तिका कारण हुने प्रभावबाट राज्यले अघि बढ्नु पर्ने उनले बताए। राज्य निकायहरूबीच समन्वय अभाव अझै छ। पर्यटन मन्त्रालयले पर्यटकलाई आह्वान गरिरहेको छ भने उद्योग मन्त्रालय प्राविधिक सहयोगमा ढिलाइ गरिरहेको छ। दुई मन्त्रालयका प्राथमिकतामा भिन्नता हुँदा राज्य कुन उद्योगलाई प्राथमिकता दिने भन्ने अन्योल फैलिएको छ, जसलाई व्यवसायीहरूले चिन्तित रूपमा हेरेका छन्।
जेनजी आन्दोलनमा क्षति भएका होटलहरूको वर्तमान अवस्था
- हिल्टन होटल : निर्माणाधीन
- हायात रिजेन्सी : निर्माणाधीन
- वर्णवास म्युजियम होटल : निर्माणाधीन
- होटल क्राउन प्लाजा काठमाडौं : संचालनमा
- होटल एडम पोखरा : संचालनमा
- होटल बरपिपल पोखरा : संचालनमा
- होटल किङ्सवेरी झापा : संचालनमा
- मेची क्राउन झापा : संचालनमा
- होटल ल्याण्डमार्क : संचालनमा
- होटल सरोबार पोखरा : बन्द
- बगैंचा रिसोर्ट, पोखरा : संचालनमा
- ड्रीम इन्टरनेशनल बुटवल : संचालनमा
- ड्रीमल्याण्ड गोल्ड रिसोर्ट : संचालनमा






