नेपालमा १०० वर्षमा ५०० किलोमिटरभन्दा बढी सुरुङ: ती कहाँ छन् र कति सुरक्षित छन्?

नेपालमा हालसम्म ५०० किलोमिटरभन्दा धेरै सुरुङहरू बनिसकेको एक गैरसरकारी संस्थाको अध्ययनले देखाएको छ। हालै भोटेकोशी बाढीपछि धेरै जलविद्युत् आयोजनाका सुरुङ र विद्युत् गृहमा फसेको ठानिएका मानिसहरूबारे १५ दिनसम्म कुनै जानकारी प्राप्त हुन नसकेपछि नेपालका सुरुङहरू कति सुरक्षित छन् भन्ने विषयमा बहस सुरु भएको छ। नेपालमा सन् १९१८ सालमा पहिलो सडक सुरुङ निर्माण गरिएको थियो। अमलेखगन्जदेखि भीमफेदीसम्मको सडक बनाउँदाको क्रममा चुरियामाईको पहाड पार गर्न तत्कालीन इन्जिनियरहरूले ५०० मिटर लामो सुरुङको अवधारणा तयार पारेका थिए। अर्को आधा भाग भत्काएर महेन्द्र राजमार्गको सडक बनाइएपछि यसको लम्बाइ अहिले २२६.८ मिटर मात्र बाँकी छ। यो सुरुङमार्गलाई बागमती प्रदेश सरकारले पर्यटकीय स्थलको रूपमा संरक्षण गरी अवलोकनका लागि राखेको छ।
सडक सुरुङ पछि नेपालमा खानी र जलविद्युत् आयोजना क्षेत्रहरूमा सुरुङहरू निर्माण हुन थालेका छन्। अहिले नेपालमा खानेपानी, सिँचाई र ढल व्यवस्थापनका लागि पनि विभिन्न प्रकारका सुरुङहरू प्रयोगमा छन्। नेपाल टनलिङ असोसिएशनका अनुसार सबैभन्दा धेरै सुरुङ जलविद्युत् आयोजनाहरूमा बनेका छन्। भोटेकोशी बाढीपछि केही दिनयता उद्धारकर्मीहरू प्रवेश प्रयास गरिरहेको चिलिमे जलविद्युत् आयोजनाको विद्युत् गृह २५० मिटर लामो सुरुङभित्रको भूमिगत संरचनामा छ। सुरुङ विशेषज्ञ समेत रहेका सांसद श्रीराम न्यौपानेले बिहीबार बिहानसम्म उद्धार टोलीहरू १०५ मिटर भित्र प्रवेश गरेको जानकारी दिएका छन्।
असोसिएशनका अध्यक्ष रामहरी शर्माका अनुसार नेपालमा जलविद्युत् आयोजनाहरूमा हालसम्म करिब ४६० किलोमिटर लामो सुरुङ बनिसकेको छ। दैनिक करिब १० देखि २० मिटर सुरुङ थपिने गरेको बताउँछन्। “हामीले सङ्कलन गरेको तथ्याङ्क आधिकारिक छैन। सम्बद्ध परियोजनाबाट जानकारी लिएर त्यसलाई एकीकृत गरिएको हो। तथ्याङ्क अनुसार अहिले देशमा ५५० किलोमिटरभन्दा बढी सुरुङ बनेका छन्,” शर्मा भन्छन्। तर वास्तविक मापनमा आधारित नरहेको पनि असोसिएशनले जनाएको छ। सिँचाई आयोजनामा ३० किलोमिटर, खानेपानीमा २७ किलोमिटर, सडकमा २५ किलोमिटर, खानीमा २ किलोमिटर र ढल व्यवस्थापनमा आधा किलोमिटर सुरुङ रहेको जानकारी दिइएको छ।
त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानस्थित विपद् अध्ययन केन्द्रका निर्देशक वसन्तराज अधिकारीले नेपालको सुरुङ संरचनाहरू विपद् र जोखिमका हिसाबले धेरै सुरक्षित रहेको बताएका छन्। तर, भोटेकोशी जस्ता असाधारण र अप्रत्याशित घटनाहरूका लागि सामान्य सुरक्षा मापदण्ड र नियमित सावधानी पर्याप्त नहुन सक्ने उल्लेख उनले गरे। “नेपाल सरकारले यसलाई सुनामी भन्यो, म त यसलाई महाप्रलय नै ठान्छु,” अधिकारी भन्छन्। “संसारका कुनै पूर्वाधारहरू यति ठूलो विपद्का लागि डिजाइन गरिँदैनन्। नेपाल जस्तो कम आर्थिक वृद्धिदर भएको देशमा विविध बाध्यता र सीमितताहरू हुन्छन्।”





