
समाचार सारांश सम्पादकीय समीक्षा सहित। त्रिशूली नदीमा आएको बाढीका कारण कृष्णभिरमा पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा तराईका १४ उद्योगहरूले २४ घण्टा ग्यास सिलिन्डर भरेर काठमाडौं पठाइरहेका छन्। सहारा ग्यास उद्योगले दैनिक ८ हजारभन्दा बढी सिलिन्डर काठमाडौं पठाइरहेको छ भने मनोज, अम्बर, लियो र सुपर ग्यासले पनि आपूर्ति बढाएका छन्। सरकारले वैकल्पिक बाटो र साना-ठूला ट्रकमार्फत ग्यास ढुवानी मिलाएको भए पनि काठमाडौं उपत्यकामा अभाव कायम छ। २८ भदौ, बारा। काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न तराई क्षेत्रमा रहेका ग्यास उद्योगहरूले चौबिसै घण्टा सिलिन्डरमा ग्यास रिफिलिङ गरिरहेका छन्। १४ भदौमा त्रिशूली नदीमा आएको बाढीले पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभिरमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएकोले ग्यास बोकेको टेलर बुलेटका लागि वैकल्पिक सडक नभएकाले भारतबाट आउने ग्यास बुलेटहरू काठमाडौं उपत्यकाबाहिर अड्किएका छन्। बुलेट काठमाडौंसम्म आउन नसकेपछि सरकारले वैकल्पिक बाटोको व्यवस्था गर्दै साना-ठूला ट्रकमार्फत ग्यास सिलिन्डर ढुवानी गर्न सुरू गरेको छ। काठमाडौं उपत्यकामा ग्यास आपूर्ति पर्याप्त नहुँदा अभाव कायमै छ। तराईका मकवानपुर, बारा, पर्सा, चितवन, महोत्तरी, धनुषा र नवलपरासीमा रहेका १४ वटा उद्योगले काठमाडौंका लागि ग्यास भर्ने काम गर्दैछन्। काठमाडौंमा व्यवसायीकरण गरिरहेका २६ उद्योगका सिलिन्डरमा तराईका ग्यास उद्योगहरूले सिलिन्डर भर्ने र ट्रकमार्फत त्रिभुवन राजपथ हुँदै ग्यास ढुवानी भइरहेको छ। तराईका उद्योगले एउटा ब्रान्डको दैनिक १ हजारदेखि ८ हजार सिलिन्डरसम्म ग्यास भरेर काठमाडौं पठाइरहेको जानकारी प्राप्त भएको छ। हेटौँडामा रहेको सहारा ग्यास उद्योगले आफूहरूले काठमाडौंमा ग्यास आपूर्ति गरिरहेको जनाएको छ। यस उद्योगले एभरेस्ट ग्यासको ४ हजार र सुगमको ४ हजार सिलिन्डरमा दैनिक ग्यास भरेर काठमाडौं पठाइरहेको छ र तीन सिफ्टमा चौबिसै घण्टा सञ्चालन भइरहेको छ। सहारा ग्यास उद्योगका प्रबन्धक खड्ग थापाले संकटको समयमा चुनौतीपूर्ण परिस्थितिमा पनि उत्पादन बढाएर काठमाडौं ग्यास पठाइरहेका बताएका छन्। ‘हामी दैनिक ८ देखि १२ हजार सिलिन्डर ग्यास भरिरहेका छौं, जसमा करिब २५ सय सिलिन्डर स्थानीय बजारमा सहाराको आफ्नै ब्रान्ड जान्छ,’ प्रबन्धक थापाले भने, ‘त्यसका अतिरिक्त ८ हजारभन्दा बढी सिलिन्डर हामी काठमाडौं पठाइरहेका छौं।’ उनका अनुसार काठमाडौं ग्यास पठाउन पालुङको बाटो प्रयोग भइरहेको छ। पाँचदेखि सातवटा साना ट्रक र काठमाडौंका पार्टी तथा डिलरका गाडीमार्फत दैनिक लगभग ८ हजार ५ सय सिलिन्डर आपूर्ति भइरहेको छ। धेरै ग्यास उत्पादनका कारण उद्योगमा लामो समयसम्म काम भइरहेको छ। ‘यो हाम्रो लागि अत्यन्त चुनौतीपूर्ण छ, तर हामी १८-२० घण्टा सिफ्ट अनुसार काम गरिरहेका छौं,’ उनले बताए, ‘दैनिक ८-१० हजार सिलिन्डर भर्दा लोडिङ गर्न गाडीले कुरिरहँदा समय लागिरहेको छ।’ राजमार्ग खुल्न वा बन्द हुनासाथ उद्योगमा ग्यास लिन आउने गाडीहरूको भीड थाम्न नसकिएको प्रबन्धक थापाले जानकारी दिए। मनोज ग्यासले दैनिक १८ सय सिलिन्डर ग्यास भरिरहेको छ पर्सा परवानीपुरस्थित मनोज ग्यास उद्योग प्रालिले काठमाडौंका लागि ग्यास सिलिन्डर भरेर पठाइरहेको छ। उद्योगले आफ्नै ग्याससँगै काठमाडौंका दुई ग्यास ब्रान्डका सिलिन्डरहरू भरेर राजधानी पठाइरहेको छ। मनोज ग्यास उद्योगका कर्मचारी सञ्जयकुमार मिश्रका अनुसार हाल उद्योगले साल्ट ट्रेडिङ कर्पोरेसनको ‘एसटीसी’ र अर्को कम्पनीको ‘लोकप्रिय’ ग्यास सिलिन्डर भर्ने काम गरिरहेको छ। ‘हामी काठमाडौंका लागि यी दुई ब्रान्डका सिलिन्डर फिलिङ गरिरहेका छौं,’ मिश्रले भने, ‘प्रतिदिन करिब १६ सयदेखि १८ सय सिलिन्डर भरेर राजधानीका लागि पठाइरहेका छौं।’ आफ्नै र काठमाडौंका ग्यासका सिलिन्डर भर्ने क्रममा उद्योगले समय व्यवस्थापन गरिरहेको छ। बिहानदेखि बेलुकी आफ्नै ग्यास फिलिन्ग गरी त्यसपछि राति काठमाडौंका सिलिन्डर भर्दै पठाइएको छ। ‘बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म आफ्नो मनोज ग्यास फिलिङ गर्छौं, त्यसपछि बाहिरका एसटीसी र लोकप्रिय सिलिन्डरको माग अनुसार राति १२/१ बजेसम्म फिलिङ गरेर पठाउँछौं,’ उनले बताए। बारामा रहेको अम्बर ग्यास उद्योगले पनि सिद्धार्थ र एसटीसी ग्यास सिलिन्डर भर्दै आएको छ। कम्पनीका कर्मचारी पन्नालाल साहका अनुसार दुवै कम्पनीका लागि दैनिक १ हजार २ सय सिलिन्डर ग्यास भरेको छ। बाराको लियो ग्यास उद्योग प्रालिले लोकप्रिय र श्रीमाया ब्रान्डका सिलिन्डरमा ग्यास भरेको ब्यवसायी निर्मल खत्रीले जानकारी दिएका छन्। लियो ग्यास संचालक तथा एलपी ग्यास उद्योग संघ कोषाध्यक्ष खत्रीले संकटको समयमा नागरिकप्रतिको जिम्मेवारी महसुस गरेर आपूर्ति बढाइएको बताए। उनका अनुसार भारतबाट ग्यास उपलब्धिमा रोकावट छैन र आफ्नै उद्योगमा दैनिक आधा दर्जन हाराहारी ग्यास बुलेट आउने गरेको छ। ‘महत्त्वपूर्ण संकटको बेला हामीले उद्योगीभन्दा पनि नागरिकको रुपमा जिम्मेवारी बोध गरेका छौं, कामदार र टिमले निकै सहयोग गरेका छन्,’ खत्रीले भने, ‘हामी बिहान ७ बजे देखि दिउँसो ३ बजे सम्म र दिउँसो ३ बजे देखि राति ११ बजे सम्म दुई सिफ्टमा काम गरिरहेका छौं।’ उनले भने, लियो ग्यास उद्योगले दैनिक ५ हजार सिलिन्डर ग्यास बजार पठाइरहेको छ, जसमा करिब २ देखि २.५ हजार सिलिन्डर स्थानीय बजार र बाँकी ३ हजार सिलिन्डर काठमाडौं पठाइएको छ। कामदारहरूको साथ र उद्योगको प्रयासले काठमाडौंका उपभोक्तालाई ग्यास अभाव हुनबाट जोगाउन सकिरहेका छन्, खत्रीले बताए। त्यस्तै, पर्साको सुपर ग्यास उद्योगले काठमाडौंको हिमाल ब्रान्डका सिलिन्डरमा ग्यास भरीरहेको जनाएको छ। पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा नआउँदासम्म नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगहरूले वैकल्पिक मार्गबाट काठमाडौं ग्यास पठाउने छन्। काठमाडौं उपत्यका लगायत केही जिल्लामा ग्यास अभाव भए पनि भारतबाट बजारको मागभन्दा बढी परिमाणमा ग्यास आपूर्ति भइरहेको तथ्यांक आयल निगमले सार्वजनिक गर्दै आएको छ।





