
जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका करिब ३०० विस्थापित परिवारहरू सुरक्षित आवास नपाएपछि पुनः जोखिमपूर्ण बस्तीमा फर्किएका छन्। साउन ३० गतेको बाढीपहिरोमा रिसाङमा चार जनाको मृत्यु र १० जना घाइते भएका थिए भने १४ परिवारका घर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। पूर्ण क्षति भएका १४ परिवारको लागि अस्थायी आवासको विवरण सङ्कलन गरिए पनि पुनर्स्थापनाको निर्णय अझै हुन बाँकी छ।
जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा साउन ३० गते आएको बाढीपहिरोले विस्थापित भएका परिवारहरू सुरक्षित आवास नपाएपछि पुनः जोखिमपूर्ण बस्तीमा जान बाध्य भएका छन्। बाढीपहिरोका कारण घर तथा बस्ती जोखिममा परेपछि अस्थायी रूपमा सुरक्षित स्थानमा सारिएका अधिकांश परिवार पुरानै बस्तीमा फर्किएका छन्। वडाध्यक्ष भीमबहादुर कार्कीका अनुसार, बाढीपहिरोले चार जनाको मृत्यु र १० जना घाइते बनाएको रिसाङमा करिब ३०० घरधुरी जोखिममा रहेको छ।
वडाध्यक्ष कार्कीले भने, “बाढीपहिरोबाट पूर्ण रूपमा क्षतिग्रस्त १४ परिवारको विवरण सङ्कलन गरी अस्थायी आवास निर्माणको प्रक्रिया अघि बढाउन लागिएको छ। ३१ भदौंमा फारम भर्ने तयारी पनि छ। तर पुनर्स्थापनाको ठाउँ अझै पक्का भएको छैन।” सुरक्षित स्थान र घर निर्माणको निर्णय नभएको हुँदा पीडित परिवारले अन्योल झेलिरहेको छ।
विपद् पछि विस्थापित करिब ३०० घरधुरी अहिले पुनः जोखिमपूर्ण घर तथा बस्तीमा फर्किएका छन्। घर पहिरोको जोखिममा भए पनि वैकल्पिक सुरक्षित आवास व्यवस्था नभइसकेपछि पुरानै घरमा जान बाध्यता देखिएको वडाध्यक्ष कार्कीले बताए। उनका अनुसार, विस्थापितहरूको मकैबाली, पशुचौपाया र घरका सामानहरू जोखिमपूर्ण स्थानमै छन्। “जोखिमपूर्ण घरमै फर्किनुपर्छ। मकै, पशुचौपाया र सामानका कारण पनि त्यहीँ जानु परिरहेको छ,” उनले भने।






