Skip to main content

ललितकला प्रज्ञाप्रतिष्ठानले युवाहरुलाई फेलोसिप प्रदान गर्ने घोषणा

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले १८ देखि ३० वर्षका नेपाली युवा कलाकारहरूको लागि ‘नाफा स्टुडियो फेलोसिप २०८३’ का लागि खुला आवेदन आह्वान गरेको छ। प्रतिष्ठानले दुई चरणमा सञ्चालन हुने उक्त फेलोसिप कार्यक्रमको घोषणा गरेको हो। यस कार्यक्रमको उद्देश्य युवा कलाकारहरूको सिर्जनात्मक क्षमता र व्यावसायिक विकासलाई प्रोत्साहन गर्नु हो।

नाफा अनुसार, फेलोसिपको पहिलो चरण आगामी २०८३ मंसिरदेखि पुस महिनासम्म र दोस्रो चरण माघदेखि फागुन महिनासम्म सञ्चालन गरिनेछ। प्रत्येक चरणमा ३–३ जना गरी कुल ६ जना कलाकारहरू चयन गरिनेछन्। छनोट भएका कलाकारहरूले दुई महिनासम्म निःशुल्क स्टुडियो, कला सामग्री खर्च, प्राविधिक सहयोग र प्रतिष्ठानको सामाजिक सञ्जालमा प्रचारप्रसारको सुविधा पाउनेछन्।

यस फेलोसिपअन्तर्गत चित्रकला, मूर्तिकला, प्रिन्टमेकिङ, शिल्पकला, हस्तकला, परम्परागत कला, लोककला, सेरामिक, मिक्स्ड मिडिया, प्रतिस्थापन कला र ग्राफिटी लगायतका समसामयिक कला विधामा अभ्यास गरिरहेका नेपाली नागरिकहरूले आवेदन दिन सक्नेछन्। इच्छुक कलाकारहरूले नागरिकताको प्रतिलिपि, बायोडाटा, सिर्जनाको पोर्टफोलियो, आर्टिस्ट स्टेटमेन्ट, कार्ययोजना र हालै खिचिएको फोटोसहित आवेदन दिनुपर्नेछ।