रुसलाई सहयोग गर्ने ट्रम्पको घोषणा, प्रयोगशालामा ‘न्युमोनिक प्लेग’ सङ्क्रमणको आशंका

२१ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबेरियाको एक प्रयोगशालामा सम्भावित ‘न्युमोनिक प्लेग’को सङ्क्रमण देखिएपछि अमेरिकाले रुसलाई आवश्यक सहयोग गर्ने बताएका छन्। यद्यपि यस विषयमा उनले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष संवाद नभएको स्पष्ट पारेका छन्। सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामीले भर्खरै यो विषयबारे जानकारी पाएका छौं। हामी उनीहरूलाई सहयोग गर्नेछौं—जति सकिन्छ सहयोग गर्नेछौं।’
एन्टिमाइक्रोबियल प्रतिरोधतर्फ संकेत गर्दै ट्रम्पले विगतमा यस्ता रोगहरू नियन्त्रण गर्न सजिलो भए पनि अहिले सूक्ष्मजीव र किटाणुहरू अझ बलियो हुँदै गएको टिप्पणी गरे। तर, स्वास्थ्य विज्ञहरूका अनुसार सुरुवाती चरणमा न्युमोनिक प्लेग पहिचान भए एन्टिबायोटिकको प्रयोगबाट निको हुन सक्ने बताउँछन्।
इर्कुत्स्कस्थित ‘रिसर्च एन्टि-प्लेग इन्स्टिच्युट अफ साइबेरिया’ मा कार्यरत २८ वर्षीया प्रयोगशाला प्राविधिक दार्या सिपिलोभाको रहस्यमय मृत्युपछि यो त्रास फैलिएको हो। सेप्टेम्बर २५ मा प्रयोगशालामा काम गर्ने क्रममा ‘यर्सिनिया पेस्टिस’ नामक प्लेगको जीवाणु रहेको टेस्ट ट्युब फुटेर उनी सङ्क्रमित भएकी थिइन्, स्थानीय र स्वतन्त्र मिडियाहरूले जनाएका छन्। सिपिलोभा सेप्टेम्बर २९ मा अस्पताल भर्ना भएकी थिइन् र अक्टोबर २ मा उनको मृत्यु भएको थियो।
रूसी जनस्वास्थ्य निकाय ‘रोस्पोट्रेब्नाडजोर’ले भने सिपिलोभाको मृत्यु ‘अज्ञात कारणको न्युमोनिया’ (न्युमोनिया अफ अननोन इटियोलोजी) ले भएको दाबी गरेको छ। परीक्षणमा उनको मृत्युको कुनै सम्बन्ध प्रयोगशालाको जीवाणुसँग नदेखिएको र इन्स्टिच्युटमा कुनै दुर्घटना नभएको रूसी पक्षले जनाएको छ। सतर्कता अपनाउँदै स्थानीय प्रशासनले अस्पतालका निश्चित विभाग बन्द गरी सिपिलोभाको सम्पर्कमा आएका करिब १९७ जनालाई चिकित्सकीय निगरानी र क्वारेण्टिनमा राखेको छ। हालसम्म अन्यमा सङ्क्रमणको लक्षण नदेखिएको अधिकारीहरूले बताएका छन्।





