Skip to main content
Advertisementxtreme adv

सरकारी वकिल कार्यालयले सीआईबीको प्रतिवेदन अध्ययन गर्दै

२१ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा अनुसन्धान गर्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुझाएको प्रतिवेदनलाई सरकारी वकिल कार्यालयले अध्ययन गरिरहेको छ। सीआईबीले बुधबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राईसहित चार जनाविरुद्ध मुद्दा दायर गर्न ललितपुर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। सीआईबीले उनीहरूबाट ६६ लाख ५३ हजार रुपैयाँ अनियमितता भएको निष्कर्ष निकालेको छ। यस सम्बन्धमा अध्ययन जारी रहेको र शुक्रबारसम्म निर्णय आउने सरकारी वकिल कार्यालयले जनाएको छ।

जिल्ला न्यायाधिवक्ता गणेश पौडेलले भने, ‘प्रतिवेदन बुधबार हामीले प्राप्त गरेका छौं, हामी यसलाई अध्ययन गरिरहेका छौं र भोलिसम्म निर्णय गर्नेछौं।’

सीआईबीले गत २ असोजमा एन्फा मुख्यालयमा छापा मारेर कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेलाई पक्राउ गरेको थियो। उनीहरू पक्राउ परेपछि एन्फाका अध्यक्ष र महासचिव सम्पर्कविहीन छन्। राष्ट्रिय हित र प्रतिष्ठाविपरीत होमगेम विक्री, राखेपको निर्देशन अवज्ञा, अवैध भत्ता वितरण, महिला साफ गेममा होटल दररेटमा कमिसन र भ्रष्टाचार, बिनास्वीकृति विदेसी भ्रमण, अनुदान रकमको दुरुपयोग र अनावश्यक नियुक्ति गराइएको भन्दै एन्फाविरुद्ध उजुरी परेको थियो।

यस्तै, विभिन्न समयमा भएका टेण्डरहरूबारे प्रचलित कानून अनुसार नचलाएको, विभिन्न प्रतियोगितामा मार्केटिङ, डिजिटल, बोर्डकास्टिङ र टिकेटिङ राइट्स दिँदा भ्रष्टाचार भएको लगायतका विषयहरू उठाइएका छन्। यसैगरी एन्फाभित्र भइरहेको गम्भीर अनियमितता, भ्रष्टाचार र पददुरुपयोगको सम्बन्धमा छानबिन गरी कारबाही गर्न माग गरिएका उजुरीहरूको आधारमा अनुसन्धान शुरु गरिएको थियो। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले २४ जून यता एन्फा निलम्बनमा राखेको छ।