
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु

२२ असोज, तेहरान (रासस/एएफपी) । मध्यपूर्वमा युद्ध सुरु भएयता पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक विमान इरानमा अवतरण गरेको छ। इरानको सरकारी सञ्चारमाध्यमले बिहीबार इराकको राष्ट्रिय ध्वजावाहक वायुसेवाको विमान राजधानी तेहरानमा आएको जानकारी दिएका छन्। अमेरिकाले इराकी वायुसेवालाई इरानमा उडान सञ्चालन गर्न प्रतिबन्धबाट विशेष छुट दिएपछि उक्त उडान सम्भव भएको हो।
सरकारी टेलिभिजनले प्रसारित गरेको दृश्यमा इराकको नजफबाट उडेको विमान तेहरानस्थित इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण गरेको देखाइएको छ। यो उडान नजफदेखि तेहरानसम्म यात्रु बोकेर गएको र पुनः उड्ने सेवा उपलब्ध हुने जनाइएको छ। सरकारी टेलिभिजन अनुसार उक्त विमान स्थानीय समय अनुसार बिहान ६ बजेर ५० मिनेटमा इमाम खोमेनी विमानस्थलमा सुरक्षित अवतरण गरेको थियो।
गत महिना इराकको यातायात मन्त्रालयले अमेरिकाले इराकी वायुसेवालाई इरानमा उडान सञ्चालनका लागि विशेष छुट दिएको जानकारी दिएका थिए। इराकी अधिकारीहरूका अनुसार यो छुट विशेष गरेर धार्मिक तीर्थयात्रीहरूको आवागमनका लागि लागू गरिएको हो, जुन नजफ र इरानबीचको यात्रा हो। नजफ शिया मुस्लिम समुदायका लागि अत्यन्त महत्वपूर्ण धार्मिक स्थल हो।
यसैबीच, इराकी सरकारले गत साता अमेरिकासँग गरेको सहमतिअनुसार महन वायुसेवाबाहेकका अन्य इरानी वायुसेवा कम्पनीहरूलाई नजफबाट दैनिक उडान सञ्चालन गर्न अनुमति दिएको छ। यो घटनाक्रम अमेरिकी कडा प्रतिबन्ध लगाएको केही समयपछि आएको हो। अमेरिकी प्रतिबन्धका कारण प्रमुख इरानी वायुसेवा कम्पनीहरूले अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेका थिए भने विभिन्न देशहरूले पनि इरानी विमानमाथि उडान प्रतिबन्ध लगाएका थिए।






