

इरानसँगको वार्ता सकारात्मक, नोभेम्बर ३ अघि कुनै आक्रमण छैन : ट्रम्प


अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो देश र इरानबीचको वार्ता सकारात्मक दिशामा अगाडि बढिरहेको बताएका छन्। उनले नोभेम्बर ३ गते हुने मध्यावधि चुनावअघि इरानमाथि कुनै आक्रमण नहुने स्पष्ट पारेका छन्। गत फेब्रुअरी २८ मा अमेरिकाले इजरायलसँगको सहकार्यमा ‘अपरेसन एपिक फ्युरी’ अन्तर्गत इरानमाथि हमला गरेको थियो। त्यसयता ट्रम्पले इरानविरुद्ध छिट्टै विजय प्राप्त गर्ने बताएका छन्, तर दुई देशबीचको द्वन्द्व भने यथावत् रहेको छ।
केही अमेरिकी सञ्चारमाध्यमले नोभेम्बरको मध्यावधि चुनावअघि नै पेन्टागनले इरानमाथि हमला गर्ने सम्भावना उल्लेख गरेका थिए, त्यतिबेला ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्। ट्रम्पले भनेका छन् कि अमेरिकाले इरानसँग सार्थक वार्ता गरिरहेको छ। उनले भने, “इस्लामिक गणतन्त्र इरानसँगको वार्ता सकारात्मक दिशामा अगाडि बढिरहेको छ। म सबैलाई स्पष्ट पार्न चाहन्छु कि इरान आर्थिक, सैन्य र दुवै क्षेत्रमा निकै जोखिममा छ। तर नाकाबन्दी पूर्ण रूपमा कायम रहनेछ।”
ट्रम्पले थप भनेका छन्, “हामी अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि चुनावअघि इरानमाथि कुनै पनि बेला आक्रमण गर्ने छैनौँ। इरानसँग परमाणु हतियार हुने छैन।” यसअघि स्ट्रेट अफ होर्मुज पुनः खुलाउने सन्दर्भमा इरानले अघि सारेको प्रस्ताव ट्रम्पले अस्वीकृत गरेका थिए। इरानी विदेशमन्त्री अब्बास अरागचीले टेलिग्राममार्फत ट्रम्पले प्रस्ताव अस्वीकृत गरेको बताएका छन्।

सम्बन्धित खबर









