पाकिस्तान नियन्त्रणमा रहेको काश्मिर क्षेत्रमा भारतसँगको सीमा सुरक्षा रेखा (एलओसी) नजिकै बारुदी सुरुङ (माइन) विस्फोट हुँदा चार युवकको मृत्यु भएको छ। पाकिस्तानको सूचना विभागले भारततर्फबाट राखिएको बारुदी सुरुङ विस्फोटमा चार युवकको मृत्यु भएको दाबी गरेको छ। सूचना विभागले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा एलओसी नजिकै रहेको महेन्दला मदारपुर गाउँमा उक्त घटना भएको जनाइएको छ।
प्रारम्भिक जानकारी अनुसार, चारै युवक गाउँ नजिकैको खानेपानी पाइपलाइन मर्मत गर्न गएका थिए। त्यही समयमा अचानक शक्तिशाली विस्फोट भएको र चारैजनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ। पुछ डिभिजनका आयुक्त सरदार वाहिद खानले युवकहरू हिँडेको जंगलमा भारतीय सेनाले बारुदी सुरुङ राखेको आरोप लगाएका छन्। घटनाबारे भारततर्फबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।