

नेपालले ओमानलाई ११३ रनले हराउँदै लगातार दोस्रो जित हासिल गर्यो


नेपालले ओमानमाथि आईसीसी क्रिकेट विश्वकप लिग २ शृङ्खलामा ११३ रनको फराकिलो जित निकाल्दै लगातार दोस्रो सफलता हात पारेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर २६३ रनको सम्मानजनक स्कोर बनायो, जसमा रोहित पौडेलले ६१ र करण केसीले ४० रन थपे। ओमानले ४० ओभरमा १५० रनमा सबै विकेट गुमायो, जहाँ नन्दन यादव र कप्तान सन्दीप लामिछानेले समानरुपमा ३-३ विकेट लिए। २७ असोज, काठमाडौं।
बलरहरूको उत्कृष्ठ प्रदर्शनका कारण नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको शृङ्खलामा लगातार दोस्रो जित सुरक्षित गरेको हो। मंगलबार अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा भएको खेलमा नेपालले ओमानलाई ११३ रनले पराजित गर्यो। नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमानले ४० ओभरमा १५० रनमा अलआउट भयो। ओमानका कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए।
नेपालका लागि नन्दन यादवले ६ ओभरमा १२ रन खर्च गर्दै ३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले ९ ओभरमा २८ रन दिएर ३ विकेट हात पारे। दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए भने करण केसी र ललित राजवंशीले १-१ विकेट लिए। अब नेपालले अर्को खेल आगामी शनिबार क्यानडासँग खेल्नेछ।

सम्बन्धित खबर









