

सुवास तामाङ बनिन् डीपी वर्ल्ड इन्डिया च्याम्पियनसिप खेल्ने पहिलो नेपाली गल्फर


सुवास तामाङले बिहीबारदेखि भारतमा सुरु हुने डीपी वर्ल्ड इन्डिया च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै नेपाली गल्फमा नयाँ इतिहास रच्नेछन्। २८ असोज, काठमाडौं। सुवास, जो डीपी वर्ल्ड टुरमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी बन्ने भएका छन्, यो प्रतिष्ठित प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दैछन्।
डीपी वर्ल्ड टुर र डीपी वर्ल्ड प्रोफेशनल गल्फ टुर अफ इन्डिया (पीजीटीआई) को संयुक्त आयोजना हुने यो प्रतियोगिता अक्टोबर १५ देखि १८ सम्म भारतको नयाँ दिल्लीस्थित दिल्ली गल्फ क्लबमा सञ्चालन हुनेछ। प्रतियोगिताको कुल पुरस्कार राशि ४० लाख अमेरिकी डलर रहेको छ। सुवासले कपिल देव इन्भिटेसनल टुर च्याम्पियनसिपपछि रेस टु डीपी वर्ल्ड इन्डिया च्याम्पियनसिपको वरीयतामा २३औँ स्थान हासिल गर्दै प्रतियोगितामा स्थान पक्का गरेका हुन्।
सुवासले यस सिजन भारतीय व्यावसायिक गल्फ टुरका १७ प्रतियोगितामा सहभागिता जनाएका छन् र तीमध्ये १४ प्रतियोगितामा कट पार गरेका छन्। उनले दुई प्रतियोगितामा शीर्ष १० भित्र स्थान बनाउन सफल भएका छन् र अहिलेसम्म २५ लाख ९३ हजार भारतीय रुपैयाँ पुरस्कार रकम जितेका छन्। दिल्ली गल्फ क्लबमा विश्वस्तरीय गल्फरहरूसँग प्रतिस्पर्धा गर्न पाउनुलाई सुवासले ठूलो अवसरका रूपमा लिएका छन्। उनले भनेका छन्, ‘डीपी वर्ल्ड टुरमा खेल्ने पहिलो नेपाली गल्फर बन्न पाउँदा म निकै खुसी छु। आफ्नो देशको प्रतिनिधित्व गर्दै यहाँ खेल्न पाउनु उत्साहजनक छ।’

सम्बन्धित खबर









