

आप्रवासन कटौतीको प्रभावः अस्ट्रेलियामा नयाँ विज्ञापनले दिएको चेतावनी


अस्ट्रेलियामा आप्रवासन कटौतीको प्रस्तावको बीचमा अस्ट्रेलियन होटल्स एसोसिएसनले आप्रवासी कामदारबिना अर्थतन्त्रमा पर्ने प्रभावलाई व्यङ्ग्यात्मक रूपमा देखाउने विज्ञापन जारी गरेको छ। एएचएका सीईओ स्टेफेन फर्गुसनले अस्पताल, एज्ड केयर, निर्माण, फलफूल टिप्ने र आतिथ्य क्षेत्रमा आप्रवासी कामदारमा निर्भरता रहेको बताएका छन्। लेबर, कोलिसन र वन नेसन पार्टीले आगामी वर्षहरूमा आप्रवासी संख्यामा ठूलो कटौती गर्ने योजना अघि बढाइरहेका छन्। २८ असोज, सिड्नी।
विश्वभर आप्रवासी विरोधी जनमत बढिरहेको छ र यसलाई राजनीतिक हतियार बनाएर धेरै पार्टीहरू अघि बढिरहेका छन्। अस्ट्रेलियामा पनि यस्तो स्थिति देखा परेको छ जहाँ सबै प्रमुख राजनीतिक दलले आप्रवासन कटौतीको प्रस्ताव गरेका छन् र यसले व्यापक समर्थन पाएको छ। तर यसको गम्भीर प्रभावलाई एउटा नयाँ विज्ञापनले देखाएको छ। विज्ञापनमा एक व्यक्ति ठूलो रातो बटनतर्फ हिंड्दैछन्, जसमा लेखिएको छ: ‘आप्रवासी कामदारविना अस्ट्रेलिया चलाउन यो बटन थिच्नुहोस्।’
फर्गुसनले सेभेन न्युजसँग भने, ‘यदि राष्ट्रले आप्रवासी कामदारहरूको योगदानलाई बेवास्ता गरी ठूलो हिस्सा गुमायो भने यसको गहिरो वास्तविकता आम अस्ट्रेलियालीले भोग्नुपर्नेछ।’ विज्ञापनमा ब्यारिस्टा र बारका कर्मचारीहरू क्याफे र पबबाट बाहिरिएका छन्, एउटी वृद्ध सेवा गर्ने महिलाले आँसु छर्लंग गर्दै एक वृद्धलाई विदाइ गरिरहेकी छन्। फर्गुसनले भने, ‘आप्रवासन कटौतीका प्रत्यक्ष असरहरु बहसमा अनिवार्य रूपमा समावेश हुनुपर्छ।’
वन नेसन पार्टीले आगामी तीन वर्षमा ७५ लाख आप्रवासी कटौती गर्ने र विदेशी आप्रवासन स्तरलाई नकारात्मक बनाउने योजना अघि सारेको छ। कोलिसनले पहिलो वर्षमै वार्षिक विदेशी आप्रवासन स्तरलाई एक तिहाइले कटौती गर्ने र चार वर्षभित्र अस्थायी भिसा धारक ६ लाख ५० हजारले घटाउने योजना प्रस्ताव गरेको छ। लेबर पार्टी पनि विदेशबाट आउने आप्रवासनलाई जुलाई २०२७ सम्म २ लाख ४५ हजार र त्यसपछि वार्षिक २ लाख २५ हजारमा सीमित गर्न चाहन्छ।
फर्गुसनले बताएअनुसार, आप्रवासी कामदारमा निर्भर रोजगारहरू प्रायः मौसमी हुन्छन्, जस्तै पर्यटकहरूको आगमन र फलफूल टिप्ने समय। ‘वर्किङ होलिडे मेकरहरूले मौसमी क्षेत्रमा मद्दत गर्छन्। जाडोमा अस्ट्रेलियाको उत्तरमा काम गर्छन्,’ उनले भने। ‘सरकारले यो संख्या ४० हजारले कटौती गर्ने प्रयास गरिरहेको छ। म सुदूर उत्तर क्विन्सल्यान्डमा थिए जहाँ बागवानी क्षेत्रमा कामदार अभावले समस्या भइरहेको छ।’

सम्बन्धित खबर









