

युरोपले चिनियाँ हाइब्रिड गाडीको आयातमा नाकाबन्दी र कोटा निर्धारण गर्ने निर्णय


युरोपेली सङ्घ र चीनबीच युरोपमा प्रवेश गर्ने चिनियाँ हाइब्रिड तथा प्लग-इन हाइब्रिड गाडीहरूको आयातमा कडा सीमा निर्धारण गर्ने प्रारम्भिक सम्झौता भएको छ। युरोपेली सङ्घले आगामी डिसेम्बरदेखि चिनियाँ हाइब्रिड गाडीको वार्षिक आयातलाई ३ लाख ५० हजारमा सीमित गर्ने योजना बनाएको छ। अर्थशास्त्री माइकल पेटिसले यो सम्झौताले सम्पूर्ण युरोपेली उत्पादन क्षेत्रमा ठुलो लाभ नपुग्ने चेतावनी दिएका छन्। २८ असोज, काठमाडौं — चिनियाँ औद्योगिक उत्पादनको अत्यधिक क्षमता (ओभरक्यापासिटी) र तीव्र निर्यातले युरोपेली बजार र उद्योगमा उत्पन्न संकटलाई सामना गर्न युरोपेली सङ्घले नयाँ रणनीति अघि सारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उच्च कर नीति सट्टा युरोपले चिनियाँ गाडी आयातमा निश्चित कोटा (इम्पोर्ट क्याप) लगाएर ‘चाइना शक २.०’ को प्रभावलाई कम गर्ने बाटो अपनाएको छ। यसै क्रममा युरोपेली सङ्घ र चीनबीच युरोप भित्रिने चिनियाँ हाइब्रिड र प्लग-इन हाइब्रिड गाडीहरूको आयातमा कडा सीमा तोक्ने प्रारम्भिक समझदारी भएको छ।
सन् २०२४ मा युरोपेली सङ्घले पूर्ण इलेक्ट्रिक गाडीहरूमा भारी भन्सार लगाउन थालेपछि चिनियाँ अटो निर्माताहरूले हाइब्रिड गाडीहरूको निर्यातमा वृद्धि गरेका थिए। यसलाई नियन्त्रण गर्न नयाँ सम्झौता गरिएकाे हो। युरोपेली सङ्घले आगामी डिसेम्बरदेखि लागू हुने गरी चिनियाँ हाइब्रिड गाडीको वार्षिक आयातलाई ३ लाख ५० हजारमा सीमित गर्ने योजना बनाएको छ। यस वर्ष अनुमानित ८ लाख पुग्ने चिनियाँ हाइब्रिड गाडी आयातलाई यो सम्झौताले आधाभन्दा बढी कमी गर्नेछ। सन् २०२५ मा कुल ३ लाख २ हजार हाइब्रिड गाडी युरोपमा आयात भएका थिए। तोकिएको कोटाभन्दा बढी गाडीहरू प्रवेश गर्न खोज्दा सोझै ब्लक गरिनेछ, थप कर लगाउने व्यवस्था हुँदैन।
युरोपको नीति परिवर्तन र ‘चाइना शक २.०’ को चुनौती चीनको आन्तरिक अर्थतन्त्रले खपत गर्न नसकेको अत्यधिक उत्पादन बाह्य बजारमा ओइरिएपछि युरोपेली नेताहरूमा गम्भीर चिन्ता थपिएको छ। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेनले आफ्ना वार्षिक सम्बोधनमा चीनसँगको व्यापार घाटा ‘खतराको बिन्दु’ (टिपिंग पोइन्ट) मा पुगेको चेतावनी दिँदै भनेकी छिन्, ‘कतिपयले दोस्रो चिनियाँ व्यापार झटका आउँदैछ भन्छन्, तर त्यो त भित्रिसकेको छ।’ सधैं उदार व्यापार नीति देखाउने जर्मनी र फ्रान्सले समेत अनुचित व्यापार अभ्यास रोक्न ब्रसेल्सलाई व्यापक अधिकार दिन प्रस्ताव गरेका छन्।
सन् २०२४ मा चिनियाँ इलेक्ट्रिक भेइकलमा ट्यारिफ लगाउन विरोध गर्ने जर्मनीको यो नीति परिवर्तनलाई ठूलो राजनीतिक मोड मानिएको छ। सम्झौताको सीमित प्रभाव र अर्थशास्त्रीहरूको आशंका युरोपको यो कदमले आफ्ना गाडी निर्मातालाई केही राहत दिने भए तापनि सम्पूर्ण युरोपेली उत्पादन क्षेत्रलाई पूर्ण सुरक्षा दिन नसक्ने विश्लेषण गरिएको छ। चिनियाँ अटो निर्माताहरूको विश्वव्यापी कार निर्यात सेप्टेम्बरमा ६४ प्रतिशतले बढेर ९ लाख १९ हजार पुगेको छ भने चीनको घरेलु बिक्री २७ प्रतिशतले घटेको छ। यसले कोटा लगाउँदा चिनियाँ उत्पादनको दबाब अन्य उद्योग वा मुलुकहरूमा सर्न सक्नेछ। प्रसिद्ध अर्थशास्त्री माइकल पेटिसले यस सम्झौताले सम्पूर्ण युरोपेली उत्पादन क्षेत्रमा खासै फाइदा नपु-याउने बताएका छन्। पेटिसका अनुसार, ‘हाइब्रिड गाडी बनाउने युरोपेली उत्पादकहरूलाई केही राहत त मिल्ला, तर त्यो अन्य युरोपेली उत्पादकहरूको लागतमा हुनेछ।’

सम्बन्धित खबर









