Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

ओरेगनको प्राथमिक विद्यालयमा गोली चल्दा ४ जनाको मृत्यु

Advertisement800×200-1

ओरेगनको बेन्ड शहरस्थित सिल्भर रेल प्राथमिक विद्यालयमा भएको गोली प्रहारमा तीन बालबालिकासहित कम्तीमा चार जनाको मृत्यु भएको छ। घटना स्थलमा गोली चलाउने व्यक्ति पनि मारिएको अधिकारीहरूले जनाएका छन्, तर मृतकहरूमा उनी परेका छन् कि छैनन्, त्यो अहिलेसम्म पुष्टि हुन सकेको छैन। संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले अनुसन्धानमा सहयोग गरिरहेको छ भने ओरेगनकी गभर्नर टीना कोटेकले घटनाक्रम नजिकबाट निगरानी गरिरहेकी छन्।

३० असोज, काठमाडौं। अमेरिकाको उत्तरपश्चिमी राज्य ओरेगनस्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित कम्तीमा चार जनाको मृत्यु भएको छ। सीबीएस र सीएनएनका अनुसार बिहीबार बेन्ड सहरस्थित सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चलेको हो। उक्त सहर पोर्टल्यान्डबाट करिब १६० किलोमिटर दक्षिणपूर्वमा पर्दछ। गोली चलाउने व्यक्ति पनि घटनास्थलमा मारिएको अधिकारीहरूले बताएका छन्। तर मृतकहरूको प्रारम्भिक गणनामा गोली चलाउने व्यक्ति समावेश भएको वा नभएको अझै स्पष्ट छैन।

बेन्ड प्रहरी विभागकी सञ्चार व्यवस्थापक शीला मिलरका अनुसार स्थानीय समय अनुसार बिहीबार दिउँसो १२:५९ बजे विद्यालयबाहिर रहेको कारमा गोली चलेको सूचना प्रहरीलाई प्राप्त भएको थियो। केही मिनेटमै प्रहरी घटनास्थलमा पुगेको थियो। गोली चलाएको आरोपमा रहेको व्यक्ति केही समयपछि मारिएको थियो। प्रहरीले उसलाई गोली हानेको हो कि अन्य कसैले नियन्त्रणमा लिएको हो भन्ने विषयमा उनी अनभिज्ञ रहेको बताए। ‘‘हामी अहिले विद्यालयका कोठा–कोठामा पुगेर सबैलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रक्रियामा छौँ,’’ मिलरले भनिन्, ‘‘बेन्डमा यस्तो घटना कहिल्यै नहोस् भन्ने हाम्रो चाहना हो। यो अत्यन्तै दुःखद घटना हो।’’

घटनामा कति जना घाइते भए र उनीहरूको अवस्था कस्तो छ भन्नेबारे तत्काल जानकारी आएको छैन। संघीय अनुसन्धान ब्युरो (एफबीआई) का निर्देशक काश पटेलले सामाजिक सञ्जालमार्फत घटनास्थलमा अनुसन्धानका लागि स्थानीय प्रहरीलाई सहयोग गरिरहेको जानकारी दिएका छन्। आवश्यक सबै स्रोतसाधन उपलब्ध गराउने उनले बताएका छन्। ओरेगनकी गभर्नर टीना कोटेकले पनि घटनालाई नजिकबाट नियालिरहेको बताएकी छन्। अमेरिकी सिनेटमा ओरेगनको प्रतिनिधित्व गर्ने जेफ मर्कलीले घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावित विद्यार्थी र परिवारप्रति समवेदना प्रकट गरेका छन्। ‘‘बेन्ड समुदाय र यस घटनाबाट प्रभावित सबै विद्यार्थी तथा परिवारप्रति मेरो सहानुभूति छ। कसैले पनि विद्यालयमा हिंसाको डर बोकेर बस्नुपर्ने अवस्था हुनुहुँदैन,’’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको सुरक्षा अधिकारीहरूले जनाएका छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर