

नेपाल सिम रेसिङ राष्ट्रिय च्याम्पियनसिपमा जयप्रताप र कुशल विजयी


नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) द्वारा आयोजित नेपाल सिम रेसिङ राष्ट्रिय च्याम्पियनसिपमा जयप्रताप मास्के र कुशल भण्डारीले उपाधि हात पारेका छन्। यो प्रतियोगिता ३० असोजमा काठमाडौंको अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा सम्पन्न भएको थियो। सिनियर वर्गमा जयप्रताप मास्केले पहिलो स्थान प्राप्त गरे भने निमन शाक्य दोस्रो भए। जुनियर वर्गमा कुशल भण्डारी पहिलो, स्पर्श व्यान्जु दोस्रो र विनित महर्जन तेस्रो भएका छन्।
सिनियर वर्गको फाइनल राउन्ड ‘सर्किट डे लेडेनोन’ ट्रयाकमा सम्पन्न भएको थियो, जहाँ जयप्रतापले १ मिनेट २२ सेकेन्डमा सर्वश्रेष्ठ ल्याप पूरा गर्दै विश्व रेकर्ड नजिकको समय कायम गरेका छन्। निमन शाक्यले १ मिनेट २६ सेकेन्डमा ट्रयाक पूरा गर्दै दोस्रो स्थान हात पारे। विजेताहरूलाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।
जुनियर वर्गमा प्रतिस्पर्धा गर्ने विद्यार्थीहरूले क्रमशः ९ हजार, ६ हजार र ३ हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगिता ‘ओकायामा सर्किट’ फाइलमा सञ्चालन गरिएको थियो, जुन ३.६ कि.मी. लामो र ११ टर्न भएको ट्रयाकमा ५ ल्याप प्रतिस्पर्धा भएको थियो।
भेट्रान च्यालेन्जमा भुषण कुमार श्रेष्ठ विजेता घोषित भएका छन्। पुरस्कार वितरण समारोहमा नासा नेपालका अध्यक्ष दशरथ रिसाल, कार्यकारी निर्देशक गोविन्द भट्टराई, सचिव सन्तोष न्यौपाने र अन्य सदस्यहरू उपस्थित थिए।

सम्बन्धित खबर









