

हेरिटेज रनमा महिला तर्फ कृतिका ह्याउमिका र पुरुषतर्फ सलमान शेख विजेता


काठमाडौं महानगरपालिकाले आयोजना गरेको १० हजार मिटर हेरिटेज रनमा महिला भागमा कृतिका ह्याउमिका र पुरुष भागमा सलमान शेख विजेता बनेका छन्। आइतबार बिहान वसन्तपुरबाट सुरु भएको दौडमा कृतिकाले ५१ मिनेट ५८.५ सेकेन्ड र सलमानले ३८ मिनेट ५६ सेकेन्डमा निर्धारित दूरी पार गरे। महिला तर्फ जेनिशा राई ५४ मिनेट २३ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भइन् भने निशा महर्जनले ५८ मिनेट २५.८ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरिन्। पुरुष तर्फ समीर कन्दङ्वा ४० मिनेट २५.८ सेकेन्डसहित दोस्रो र सुरज शाही ४४ मिनेट २२.८ सेकेन्डसहित तेस्रो भए।
दौडमा सहभागी हुन ७०४ जनाले नाम दर्ता गराएका थिए, जसमा १५२ महिला र ५५२ पुरुष थिए। निर्धारित समयभित्र नाम दर्ता गराएका ५५० जनाले प्रतिस्पर्धामा भाग लिएका थिए। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विजेतालाई मेडल र प्रमाणपत्र प्रदान गरिन्। दौडले सहरका सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको पहिचान र पैदल हिँड्ने संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य राखेको थियो।
दौडको पुरस्कार वितरण कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले काठमाडौंको सौन्दर्य, जनजीवन र सम्पदाको विशेषता पैदल हिँडेर अझ राम्रोसँग अनुभव गर्न सकिने बताइन्। महानगरपालिकाले स्वस्थ सहर निर्माणका लागि खेलकुदलाई प्राथमिकतामा राखेको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले बताए। ७५ वर्षीय मंगलदास तण्डुकार सबैभन्दा बढी उमेरका सहभागी थिए।
दौडमा पारालिम्पिक पदक विजेता अस्ट्रेलियाली खेलाडी क्याट्रिना वेब, नेपाली धावक सन्तोषी श्रेष्ठ र ओलम्पियन हरिबहादुर रोकायलगायत सहभागी भएका थिए। महानगरपालिकाका १३ वटा वडा समेटिएको दौड बिहान ६ बजे वसन्तपुर डबलीबाट सुरु भएको थियो र असन, जमल, दरबारमार्ग, नारायणहिटी, नक्साल, हाँडीगाउँ, मालीगाउँ, सिफल, गौशाला, मैतीदेवी, डिल्लीबजार, भद्रकाली, सहिद गेट, धरहरा र न्युरोड हुँदै वसन्तपुरमै पुगेर दौड सम्पन्न भएको थियो। काठमाडौं फिल्म फेस्टिभलको पूर्वसन्ध्यामा हेरिटेज रन आयोजना गरिएको हो।

सम्बन्धित खबर









