

विद्यार्थी नेतृत्वको ‘स्टुडेन्ट लिस्ट’ले सर्बियामा १४ वर्षे बुचिच शासनलाई अन्त्य गर्यो


सर्बियामा विद्यार्थी नेतृत्वको ‘स्टुडेन्ट लिस्ट’ले संसदीय निर्वाचनमा बहुमत हासिल गरेपछि आलेक्जान्दर बुचिचको १४ वर्ष लामो शासन समाप्त भएको छ। २५० सिट रहेको संसद्मा ‘स्टुडेन्ट लिस्ट’ले १३५ सिट भन्दा बढी जित्दा बुचिचको एसएनएस गठबन्धन १०५ सिटमा सीमित भएको छ। नोभी सादको रेल्वे स्टेशनमा क्यानोपी भत्किँदा १६ जनाको मृत्यु भएको दुर्घटनापछि सुरु भएको आन्दोलन चुनावी मोर्चामा परिणत भएको थियो। ९ कात्तिक, काठमाडौं। सर्बिया सरकार तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो दक्षिणपन्थी शासन ढलेको छ। आइतबार सम्पन्न संसदीय निर्वाचनमा विद्यार्थी नेतृत्वको आन्दोलन ‘स्टुडेन्ट लिस्ट’ले बहुमत प्राप्त गरेपछि बुचिचको शासन समाप्त भएको हो। बुचिचले ‘स्टुडेन्ट लिस्ट’सँग आफ्नो पार्टी पराजित भएको स्वीकार गरेका छन्। प्रारम्भिक मतपरिणाम अनुसार २५० सिट रहेको सर्बियाली संसद्मा ‘स्टुडेन्ट लिस्ट’ले १३५ भन्दा बढी सिट जितेको छ। बुचिचको सत्तारूढ सर्बियन प्रोग्रेसिभ पार्टी (एसएनएस) गठबन्धन १०५ सिटमा सिमित भएको छ। करिब ७० प्रतिशत मतदाता सहभागी भएका चुनाव सन् २००० को युगोस्लाभियाको विघटनपछिको उच्चतम सहभागिता भएको छ। नतिजा सार्वजनिक भएपछि राजधानी बेलग्रेड तथा नोभी सादलगायत प्रमुख शहरहरूमा हजारौं युवा र नागरिकहरूले विजय उत्सव मनाइरहेका छन्। उनीहरूले ‘आलेक्जान्दर ढल्यो!’ (Alexander is gone!) र सन् २००० मा स्लोबोदान मिलोसेभिचको पतनको बेला घन्काइएको ऐतिहासिक नारा ‘उनी सकिए!’ (He’s finished!) पुनः दोहोर्याइरहेका छन्। यो ऐतिहासिक राजनीतिक परिवर्तन नोभेम्बर २०२४ मा नोभी सादको रेल्वे स्टेशनको कङ्क्रिट क्यानोपी भत्किँदा १६ जनाको ज्यान गएको दर्दनाक दुर्घटना पछि सुरु भएको आन्दोलनको परिणाम हो। उक्त दुर्घटनाको मुख्य कारण सरकारको भ्रष्टाचार, कमिसनबाजी र गुणस्तरहीन निर्माण भएको भन्दै सर्बियाका विश्वविद्यालयका विद्यार्थीहरूले देशव्यापी सडक आन्दोलन सुरु गरेका थिए। सुरुमा भ्रष्टाचार र जवाफदेहिताको मागबाट सुरु भएको सडक आन्दोलन विस्तार पाउँदै राजनीतिक तथा चुनावी मोर्चामा परिणत भयो। ‘स्टुडेन्ट लिस्ट’ले कुनै परम्परागत राजनीतिक नेतालाई अगाडि नबढाई विद्यार्थी नेताहरूले मुटुरोग विशेषज्ञ डा. इलिया स्रदानोभिचको नेतृत्वमा प्राध्यापक, कलाकार, खेलाडी तथा कृषकहरूको समावेशी उम्मेदवार सूची तयार पारेका थिए। ती उम्मेदवारहरूको ठूलो संख्या सफल भएको छ। विजय घोषणा पश्चात ‘स्टुडेन्ट लिस्ट’का प्रमुख उम्मेदवार डा. इलिया स्रदानोभिचले भने, ‘आज राति जनताको आवाज सुनियो। भोलिदेखि हामी कानुनी राज्य र लोकतन्त्र पुनर्स्थापना गर्न अघि बढ्नेछौँ। दृढ इच्छाशक्ति भए परिवर्तन सम्भव छ भन्ने प्रमाणित गरिसकेका छौँ। अब हामी सत्य, आवाज र उज्जवल भविष्यका लागि देश बनाउनेछौँ।’ ट्रम्प परिवारसँगको नजिकको सम्बन्ध र अमेरिकी भूराजनीतिमा प्रभावका कारण आलेक्जान्दर बुचिचको पतनले अमेरिका र युरोपबीचको भूराजनीतिक सन्तुलनमा नयाँ तरङ्ग सिर्जना गरेको छ। बुचिचले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियर र पूर्व विशेष दूत रिचर्ड ग्रेनेलसँग सम्बन्ध राखेका थिए। ट्रम्पका जेरेड कुश्नरको कम्पनीले बेलग्रेडस्थित पुरानो रक्षा मन्त्रालय भवनलाई लक्जरी होटल तथा आवासीय परिसरमा रूपान्तरण गर्न प्रारम्भ गरेको अर्बौं डलरको आयोजना विवादास्पद बनेको थियो। बुचिचले रूस, चीन र अमेरिका बीच रणनीतिक सन्तुलन कायम राख्दै आएका थिए। तर, युवा पुस्ताको युरोपेली युनियनतर्फ झुकाव सर्बियालाई रूसी प्रभावबाट हटाई युरोपेली प्रजातान्त्रिक ढाँचातर्फ अघि बढाउने अनुमान गरिएको छ। अबको राजनीतिक बाटोमा ‘स्टुडेन्ट लिस्ट’ले स्पष्ट बहुमतका साथ नयाँ प्रधानमन्त्री चयन गरी नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नु पर्नेछ। आगामी डिसेम्बरमा सर्बियामा नयाँ राष्ट्रपति चयनका लागि छुट्टै निर्वाचन पनि हुनेछ। बुचिचले प्रधानमन्त्री हुने उद्देश्यले गत महिना राष्ट्रपति पदबाट राजीनामा दिएका थिए। संसदीय चुनावमा पराजयपछि उनको राजनीतिक भविष्यप्रति ठूलो प्रश्न उब्जिएको छ। यस ऐतिहासिक जितलाई युरोपभर युवा वर्गमा बढेको सरकार विरोधी र भ्रष्टाचार विरोधी लहरको रूपले हेरिएको छ।

सम्बन्धित खबर









