

प्युठानको दिहाल्नामा लालिगुराँस टी–२० कप क्रिकेट प्रतियोगिता सुरु


प्युठानको दिहाल्नामा कात्तिक ७ गतेदेखि लालिगुराँस टी–२० कप खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ, जहाँ २५ टोली सहभागी छन्। प्रतियोगितामा प्रथम हुने टोलीले एक लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। २ हजार १३० मिटरको उचाइमा रहेको दिहाल्नाले खेलकुद तथा पर्यटन प्रवर्द्धन गर्दै स्थानीय प्रतिभा पहिचान गर्ने लक्ष्य राखेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल)ले राष्ट्रिय स्तरमा क्रिकेटप्रति आकर्षण बढाइरहेको समयमा प्युठानको दिहाल्नामा पनि स्थानीय खेलाडीहरूलाई पहिचान गर्ने उदेश्यले क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ। प्युठानको झिमरुक, नौबहिनी र गौमुखी गाउँपालिकाको संगमस्थल दिहाल्नामा कात्तिक ७ गतेदेखि लालिगुराँस टी–२० कप खुल्ला क्रिकेट प्रतियोगिता सुरु भई कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछ।
एनपीएलले नेपाली क्रिकेटलाई व्यवसायिक प्रतिस्पर्धा, दर्शकको उत्साह र खेलाडीहरूको प्रतिभा प्रदर्शन गर्ने ठूलो मञ्च प्रदान गरिरहेको छ। दिहाल्नामा आयोजना गरिएको प्रतियोगिताले ग्रामीण क्षेत्रका खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर दिने साथै जिल्लामा क्रिकेटको आधार सुदृढ बनाउने अपेक्षा गरिएको छ। प्रतियोगितामा प्रथम हुने टोलीले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।
दिहाल्ना प्राकृतिक सौन्दर्य र पर्यटनका दृष्टिले सम्भावनायुक्त क्षेत्र हो। यहाँ प्रस्तावित लालिगुराँस राष्ट्रिय क्रिकेट रंगशालालाई खेलकुद गतिविधिको केन्द्रको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तुल्सीराम शर्माले खेलकुद र पर्यटनलाई समेटेर स्थानीय व्यवसाय, होटल तथा अन्य सेवाहरूमा सकारात्मक प्रभाव पर्ने बताए।

सम्बन्धित खबर









