

नेपालको यू–१८ टोलीको सुखद अन्त्य, लगातार जितसहित


चीनको सुजोउमा सम्पन्न आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपाल यू–१८ छात्र टोलीले अन्तिम दुई खेलमा भारत र हाइटीलाई पराजित गर्दै सुखद उपसंहार गरेको छ। अक्टोबर १७ देखि २६ सम्म चलेको ३८ राष्ट्र सहभागी प्रतियोगितामा नेपालले २९औँ स्थान प्राप्त गरेको छ। नेपालका तेन्जिङ शेर्पाले भारतविरुद्ध एक खेलमा चार गोल गरेका थिए। ९ कात्तिक, काठमाडौं। चीनको सुजोउमा आयोजित आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपालको यू–१८ छात्र फुटबल टोलीले अन्तिम दुई खेलमा लगातार जित निकाल्दै प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्यो। नेपालले भारतको दोस्रो टोलीलाई ६–३ गोलले र हाइटीलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गरेको छ। अक्टोबर १७ देखि २६ सम्म चलेको प्रतियोगितामा विश्वका ३८ राष्ट्रका टिमहरूले सहभागिता जनाएका थिए, जसमा नेपालले २९औँ स्थान हासिल गर्यो।
सुरुआती पाँच खेलमा लगातार पराजय भोगे पनि नेपालले अन्तिम दुई खेलमा विजय हासिल गरी प्रतियोगितामा राम्रो अन्त्य गरेको छ। नेपालले समूह चरणमा टर्की, हङकङ (चीन) र चिलीसँग प्रतिस्पर्धा गर्यो। अक्टोबर १९ मा भएको पहिलो खेलमा नेपाल टर्कीविरुद्ध १२–० ले पराजित भयो। दोस्रो खेलमा हङकङसँग ६–३ र तेस्रो खेलमा चिलीसँग ७–१ को गोल अन्तरले हार भोग्नु परेको थियो। समूह चरणपछि वर्गीकरण चरणमा नेपाल आयरल्याण्डसँग ८–० र क्युबेकसँग पनि ८–० गोल अन्तरले पराजित भयो। लगातार पाँच हारपछि नेपालले अक्टोबर २४ मा भारतको दोस्रो टोलीलाई ६–३ ले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गर्यो। नेपालका लागि तेन्जिङ शेर्पाले चार गोल गरे भने प्रशान्त मेन्याङ्बो र क्रिस्चल थापाले एक–एक गोल गरे। अक्टोबर २५ मा नेपालले हाइटीलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्यो। पेनाल्टीमा तेन्जिङ शेर्पा, भविष्य शाह, संयुग राई, इज्याक शाही र इभान रत्न तुलाधरले गोल गरे। प्रतियोगिताको छात्र तह फाइनलमा क्रोएसियाले गिनीलाई पेनाल्टी सुटआउटमा ४–० ले हराउँदै उपाधि जित्यो। छात्र तहमा चीनको टोली ‘चाइना १’ ले जर्मनीलाई ५–१ गोलले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो। नेपाल स्कुल स्पोर्ट्स फेडेरेशनको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी नेपाली टोलीले अन्तर्राष्ट्रिय स्तरमा ठूलो अनुभव हासिल गरेको छ। नेपाली टोलीको नेतृत्व गर्दै चीन पुगेका विद्यालय खेलकुद महासंघ (आईएसएसएफ) का महासचिव तथा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी समितिका सदस्य राजकुमार कार्कीले सुरुवाती खेलमा हार भए पनि अन्तिम दुई खेलमा जित निकाल्नु टोलीका लागि सकारात्मक उपलब्धि भएको बताए।

सम्बन्धित खबर









