

ट्रम्पको लोकप्रियता १ प्रतिशतले बढ्दा डेमोक्र्याटिक पार्टीको अग्रता कायम


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता १ प्रतिशतले बढेर ३२ प्रतिशत पुगेको छ। नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचन अघि दर्ता भएका मतदातामध्ये ४७ प्रतिशतले डेमोक्र्याटिक पार्टी र ३६ प्रतिशतले रिपब्लिकन पार्टीलाई रोजेका छन्। रोयटर्स/इप्सोस सर्वेक्षण अनुसार ७३ प्रतिशत मतदाताले जीवनयापनको लागत गलत दिशामा गएको बताएका छन्, जसले महँगीलाई मुख्य चासो बनेको देखाउँछ।
१० कात्तिक, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता दर गत साताको ऐतिहासिक न्यूनतम स्तरबाट एक प्रतिशतले वृद्धि हुँदै ३२ प्रतिशत पुगेको छ। नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचन अघि सम्पन्न रोयटर्स/इप्सोस सर्वेक्षणमा यस्तो देखिएको हो।
सोमबार सम्पन्न सर्वेक्षणको अनुसार अमेरिकी कंग्रेस कस्ता दलको नियन्त्रणमा रहन्छ भन्ने प्रश्नमा दर्ता भएका मतदातामध्ये ४७ प्रतिशतले डेमोक्र्याटिक पार्टी र ३६ प्रतिशतले रिपब्लिकन पार्टीलाई रोजेका छन्। ११ प्रतिशत मतदाताले भने अझै निर्णय गर्न सकेका छैनन्। अक्टोबर १९ मा गरिएका सर्वेक्षणको तुलनामा डेमोक्र्याटिक पार्टीको अग्रता एक प्रतिशतले घटेको छ।
अनिर्णीत मतदातासमेत समेट्दा डेमोक्र्याटिक पार्टीलाई ५० प्रतिशत र रिपब्लिकन पार्टीलाई ४१ प्रतिशतले समर्थन गरेका छन्। यस आधारमा डेमोक्र्याटिक पार्टी नौ प्रतिशतले अगाडि छ। नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनले अमेरिकी कंग्रेसका दुवै सदन (प्रतिनिधिसभा र सिनेट) कुन दलको नियन्त्रणमा रहने भनेर निर्धारण गर्नेछ।
हाल दुवै सदनमा बहुमत कायम गर्न रिपब्लिकन पार्टी संघर्षरत छ। कंग्रेसका कुनै एक सदनमा नियन्त्रण गुमाएमा पनि ट्रम्पलाई आफ्नो दोस्रो कार्यकालको बाँकी दुई वर्षमा नीति तथा कार्यक्रम कार्यान्वयन गर्न मुश्किल हुन सक्ने विश्लेषण गरिएको छ।

सम्बन्धित खबर









