Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

सङ्क्रमण पहिचान गर्न सक्षम आनुवंशिक प्रविधि

Advertisement800×200-1

यसले कोभिड-१९ को पहिचान गर्‍यो। अहिले यही आनुवंशिक प्रविधिले चिकित्सकहरूलाई जीवन र मृत्युबीच निर्णय लिन मद्दत गर्दैछ। सन् २०१९ को डिसेम्बर अन्त्यतर्फ चीनका तीन मुख्य सहरका भाइरोलोजिस्टहरूको टोलीले गम्भीर निमोनियाका कारण अस्पताल भर्ना भएका बिरामीहरूबाट सङ्कलन गरिएका स्वाब नमुनाहरूको विश्लेषण गर्न थाल्यो। ती सबै बिरामीहरू बिरामी हुनुअघि वुहानस्थित ख्वानान सामुद्रिक खाद्य बजार अर्थात् सी फूड मार्केट पुगेका थिए। तर भाइरोलोजिस्टहरूले ती नमुनाहरू परीक्षण गर्दा कुनै स्पष्ट नतिजा फेला पार्न सकेनन्। नमुनामा रहेको आनुवंशिक पदार्थ पहिले पत्ता लागिसकेको कुनै पनि रोगजनकसँग मेल खाएन। पछि चिकित्सकहरूले मेटाजेनोमिक परीक्षण नामको नयाँ विधि अपनाए। यो विधिले नमुनामा भएका सबै सूक्ष्मजीवहरू पत्ता लगाउन मद्दत पुर्‍याउँछ, चाहे ती पहिल्यै परिचित हुन् वा नयाँ।

यो परीक्षणले ती बिरामीहरूको नमुनामा रहेको रोगजनक कोरोनाभाइरस परिवारसँग धेरै मिल्दो देखाएको छ। यसमा मिडल ईस्ट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर निमोनिया सृजक भाइरसहरू पनि समावेश थिए। “अघिल्ला महामारीहरूको सन्दर्भमा यो ठूलो परिवर्तन (गेम चेन्जर) थियो,” सिङ्गापुर विश्वविद्यालयका सहप्राध्यापक निरञ्जन नागराजनले भने। रोगजनक के हो पहिचान भएपछि कोभिड-१९ पहिचान गर्ने परीक्षण विकास गर्न सम्भव भयो जसले भाइरसको फैलावट नियन्त्रण गर्न मद्दत पुर्‍यायो। साथै उपचार र खोप विकासमा तीव्रता आयो। आजसम्म मेटाजेनोमिक्स को सबैभन्दा चर्चित प्रयोग यही नै हो। अब यो विधि अस्पतालहरूमा पनि छिटो लोकप्रिय हुँदैछ। सेप्सिस छिटो निदानदेखि अस्पष्ट कारण भएका रोग निश्चय गर्न यो प्रविधिले जीवन बचाइरहेको छ।

जब कुनै बिरामीमा झुम्मिने, ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षणसहित स्नायु रोग वार्डमा आउँछन्, चिकित्सकलाई जीवन-मरणको सङ्घर्ष जस्तो स्थिति थाहा हुन्छ। यी लक्षणले मेनिन्जाइटिस वा इन्सेफलाइटिस संकेत गर्न सक्छ। यी मस्तिष्क र मेरुदण्डलाई असर गर्ने खतरनाक अवस्थाहरू हुन्। तर चिकित्सकहरूले गम्भीर दुविधा भोग्नुपर्छ: रोग भाइरस वा ब्याक्टेरियाबाट भएको हो या मस्तिष्कको प्रतिरक्षा प्रणालीको अतिसक्रियता। सीमित परीक्षण सुविधा र समयको कमीले चिकित्सकहरूलाई व्यापक उपचार लिन बाध्य बनाउँछ। “तपाईँले तत्काल निर्णय लिनुपर्छ,” अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालय सान फ्रान्सिस्कोका प्राध्यापक तथा सङ्क्रामक रोग विशेषज्ञ चार्ल्स चिओ भन्छन्। उनी मेटाजेनोमिक परीक्षण सम्बन्धी नयाँ अनुसन्धानमा लागि छन्। “अहिले गम्भीर अवस्थामा रहेका बिरामीलाई चिकित्सकहरू संक्रमण र अटोइम्युन डिजिज दुवैको उपचार दिन्छन्।”


Advertisementadv-800×200.png

सम्बन्धित खबर