

गुवाहाटीमा गोलीकाण्ड: परिवारका चार सदस्यसहित ५ जनाको मृत्यु


असमको गुवाहाटीस्थित होटल बिलास इनमा होटल स्वामित्व र लिज विवादका क्रममा गोली चल्दा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु भएको छ। घटनामा ६ जना घाइते भएका छन्। प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। घटनामा प्रयोग भएको ३२ बोरको लाइसेन्स प्राप्त पेस्तोल पनि बरामद गरिएको छ। १० कात्तिक, काठमाडौं।
भारतीय मिडियाका अनुसार, सोमबार राति करिब ९ बजे गुवाहाटीको जीएस रोडस्थित बोरा सर्भिस नजिकै यहि घटना घटेको हो। असम प्रहरीका अनुसार, घटनामा ६ जनालाई गोली लागेको थियो र तीमध्ये पाँच जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। गुवाहाटीका प्रहरी आयुक्त पार्थ सारथी महन्तले यसबारे जानकारी दिएका छन्।
घटनापछि प्रहरीले एक जनालाई पक्राउ गरेको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ। घटनामा प्रयोग भएको हतियार पनि बरामद गरिएको छ। घटना भएको होटल असम प्रहरी मुख्यालयबाट करिब दुई किलोमिटरको दूरीमा रहेको छ। होटलको स्वामित्व र लिज सञ्चालनसम्बन्धी विवादले यो घटना हिंसात्मक मोड लिएको प्रारम्भिक विवरणमा उल्लेख छ।

सम्बन्धित खबर









