Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

काठमाडौंमा शुक्रबारको वर्षाले शनिबारको खेलमा असर पर्ने सम्भावना

Advertisement800×200-1

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार हुने दुवै खेल प्रभावित हुने सम्भावना बढेको छ। मौसमविद्ले शनिबार पनि साँझसम्म हल्का वर्षा जारी रहने पूर्वानुमान गरेका छन्। काठमाडौंमा शुक्रबार दिनभर वर्षा भएपछि एनपीएलका लुम्बिनी लायन्स–चितवन राइनोज र विराटनगर किङ्स–सुदूरपश्चिम रोयल्सबीचको खेल प्रभावित हुने सम्भावना छ। मौसमविद् उज्ज्वल उपाध्यायले शनिबार साँझसम्म सिमसिम पानी परिरहने र भोलिको खेल हुने सम्भावना कम रहेको बताए।

शनिबार एनपीएलमा दुई खेल हुँदैछन्। पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज तथा दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। उपाध्यायका अनुसार बिहीबारको खेलमा मौसमले साथ दिए पनि शनिबार खेल सञ्चालन हुने सम्भावना कम छ। उनले भने, ‘बिहीबार एनपीएल लक्की रह्यो। शनिबार भने साँझसम्मै सिमसिम पानी परिरहने देखिएको छ। भोलिको खेल हुने सम्भावना कम छ।’

काठमाडौंमा बिहीबार अबेर रातिदेखि वर्षा भइरहेको छ। शुक्रबार दिनभर पनि वर्षा रोकिएको छैन। बिहीबार विराटनगर किङ्स र कर्णाली याक्सबीचको दोस्रो खेल भने सिमसिम पानी परिरहेकै अवस्थामा सम्पन्न भएको थियो। एनपीएलमा कुनै पनि खेलका लागि रिजर्भ डे राखिएको छैन। त्यसैले शनिबार वर्षाका कारण खेल हुन नसके दुवै खेलको नतिजा प्रभावित हुन सक्छ। खेलको रद्द वा नतिजाविहीन भएमा टोलीहरूले १-१ अंक बाँड्ने छन्।

टिकट काटिसकेका दर्शकले भने टस नहुँदै खेल रद्द भएमा टिकटको पैसा रिफन्ड पाउने इसेवाले जनाएको छ। वर्षाले खेल समयमै सुरु हुन नसकेपनि मौसम सुधार भएर मैदान तयार गरी कम्तीमा ५ ओभरका खेल सम्भव हुने भएमा ५-५ ओभरको खेल खेलाइने सम्भावना भने कायमै रहन्छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर