Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

अनलाइन ठगीबाट चोरिएको रकम कहाँ जान्छ?

Advertisement800×200-1

नेपालमा अनलाइन ठगीमा परेको रकम जम्मा गर्न गिरोहले कैयौँ ‘म्यूल खाता’ प्रयोग गर्ने गरेका कारण फिर्ता ल्याउन चुनौती देखिएको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ। अनलाइन माध्यमबाट बैंक खाताबाट चोरी भएको रकम केही मिनेटभित्रै कैयौँ खाताहरूमा पुग्ने गरेको आफूहरूको अनुसन्धानले देखाएको साइबर ब्यूरोका प्रवक्ता दीपक राज अवस्थी बताउँछन्। उनका अनुसार अनलाइनबाट चोरी भएको रकम सीधै ठगी गर्ने गिरोहको बैंक खातामा जाँदैन। “यो सङ्गठित अपराध हो। कुन खाताबाट कहाँ पुर्‍याउने पहिल्यै तय भइसकेको हुन्छ। उनीहरूले मनी म्यूलहरू पहिल्यै तयार गरेका हुन्छन्। पाँच-१० मिनेटमा फरकफरक बैंकका चार-पाँच वटा खातामा जान्छ,” अवस्थी भन्छन्।

साइबर ठगहरूले धेरैजसो अशिक्षित र पैसाको आवश्यकता भएका मानिसहरूलाई प्रलोभनमा पारेर उनीहरूको बैंक खाता र मोबाइल नम्बर अनलाइन ठगीको रकम अर्को खातासम्म पुर्‍याउनका लागि ‘म्यूल’ अर्थात् ढुवानी खाताको रूपमा प्रयोग गर्ने गरेको प्रहरी र राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेल लामो समयदेखि निष्क्रिय रहेका र ग्राहक पहिचान विवरण अर्थात् ‘केवाईसी’ अद्यावधिक नभएका खाताहरू धेरैजसो आपराधिक कारोबारमा म्यूल खाताको रूपमा प्रयोग हुने गरेको बताउँछन्। “म्यूलका लागि कमजोर खाता अर्थात् लामो समयदेखि प्रयोग नभएका वा विवरण अद्यावधिक नभएका खाता प्रयोग हुन्छन्,” पौडेल भन्छन्।

साइबर ब्यूरोका अधिकारीहरूले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा सर्वसाधारणले साइबर ठगीका घटनामा दुई अर्ब रुपैयाँभन्दा बढी गुमाएका थिए। जसमध्ये करिब १८ करोड रुपैयाँ मात्रै फिर्ता वा ‘रिकभरी’ भएको छ। प्रहरीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा साइबर अपराधसम्बन्धी २० हजार उजुरी परेकोमा करिब ७,५०० उजुरी ठगीसँग सम्बन्धित थिए। प्रहरी आफैँसँग बैंकिङ प्रणालीमा पहुँच नहुने र ठगीमा प्रयोग भएका खाताहरू तत्कालै रोक्का गर्न प्रभावकारी संयन्त्र नभएका कारण नेपालमा अनलाइन माध्यमबाट चोरिएको वा ठगिएको रकम १० देखि १२ प्रतिशत मात्रै फिर्ता ल्याउन सकिएको साइबर ब्यूरोले जनाएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर