

युरोपभरि नयाँ पुस्ता अर्थात् जेनेरेसन–जी (जेनजी) का युवाहरू शिक्षा बजेट कटौती, आवासको महँगो मूल्य, बेरोजगारी र भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका छन्। फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किएको छ, र पेरिससहित विभिन्न सहरमा दसौँ हजार प्रदर्शनकारीले सार्वजनिक र नि:शुल्क शिक्षाको माग गरेका छन्। जर्मनीका ३४ भन्दा बढी सहरमा जेनजी आन्दोलन फैलिँदा केही ठाउँमा तोडफोड र झडप भएका छन्, जबकि आयोजकले हिंसाको निन्दा गरेका छन्।
१६ कात्तिक, काठमाडौं। युरोपका विभिन्न देशमा आन्दोलनका मुद्दा र स्वरूप फरक छन्। स्पेनमा ज्येष्ठ नागरिकलाई घरबाट हटाइएका घटनादेखि फ्रान्समा शिक्षकहरूको आन्दोलनलाई समर्थन गर्दै विद्यार्थीले गरेका प्रदर्शनसम्मका गतिविधि देखिएका छन्। अल्बानियामा भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कुश्नरसँग जोडिएको विलासी विकास परियोजनाको विरोधमा विद्यार्थीहरूले आन्दोलन गर्दै आएका छन्। आन्दोलनका तत्कालीन कारण फरक भए पनि तिनको साझा आधार युवाहरूमा बढ्दो निराशा हो।
युवाहरूको चिन्ता भनेको आफ्ना अभिभावकको पुस्ताले पाएका अवसर आफूहरूले नपाउने हो कि भन्ने हो। यी आन्दोलनले एकअर्कालाई पनि प्रभावित पारिरहेका छन्। इटाली र ग्रिसका प्रदर्शनकारीले आफ्ना नारामा फ्रान्सको आन्दोलनलाई जोडिरहेका छन् भने स्पेनबाट सुरु भएको आवाससम्बन्धी प्रदर्शन पोर्चुगलसम्म फैलिएको छ। फ्रान्सको प्रमुख विद्यार्थी युनियन ‘युनेफ’ की उपाध्यक्ष एलिस डि ब्रिटोका अनुसार युरोपभरिका विद्यार्थी संगठनहरू एकअर्कासँग अनुभव साटासाट गरिरहेका छन्।
आवास संकटले जोड्यो सीमापारिका युवा आवासको बढ्दो लागत पनि युरोपभरिका युवालाई एकजुट बनाउने प्रमुख मुद्दा बनेको छ। स्पेनमा सेप्टेम्बरमा चर्किएको आवाससम्बन्धी आन्दोलनले सरकारमाथि राजनीतिक दबाब बढाएको छ। रोममा अध्ययनरत विद्यार्थीहरूले पनि किफायती आवासलाई गुणस्तरीय शिक्षाबाट अलग राख्न नमिल्ने बताएका छन्। यी आन्दोलनले सरकारमाथि राजनीतिक दबाब सिर्जना गरेका छन्। अल्बानियामा प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री एदी रामाले राजीनामाको माग अस्वीकार गरेका छन्।
फ्रान्सका पेरिस, मार्सेली, लियोन, लिल, ओर्लियन्स र बोर्डो लगायतका सहरमा पनि दसौँ हजार प्रदर्शनकारी सडकमा उत्रिएका छन्। युनेफको आयोजनामा पेरिसमा भएको जुलुसमा प्रमुख ट्रेड युनियन सीजीटी, किसान, जलवायु अभियन्ता र ‘येलो भेस्ट’ आन्दोलनका सहभागीले समेत समर्थन जनाएका छन्। जर्मनीमा पनि फैलिएको जेनजी आन्दोलनको प्रभाव देखिएको छ। जर्मनीका ३४ भन्दा बढी सहरमा हजारौँ युवा तथा विद्यार्थी सडकमा उत्रिएका थिए।
प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। चान्सलर फ्रिड्रिख मर्त्जको नेतृत्वमा आगामी साताको अन्त्यमा पनि यस्तै घटना दोहोरिन सक्ने चेतावनी दिइएको छ। युरोपका विभिन्न देशमा फरक–फरक मुद्दाबाट सुरु भएका यी प्रदर्शनले शिक्षा, आवास, रोजगारी, सार्वजनिक सेवा र आर्थिक न्यायका विषयमा नयाँ पुस्ताको साझा असन्तोष उजागर गरेका छन्।

सम्बन्धित खबर











