

ट्रम्पको घट्दो लोकप्रियताले डेमोक्र्याट्सलाई फाइदा पुर्याउने सम्भावना


अमेरिकामा मंगलबार हुने मध्यावधि निर्वाचनअघि डेमोक्र्याट्सले प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत जित्ने लक्ष्य राखेका छन्। पछिल्ला जनमत सर्वेक्षणले प्रतिनिधिसभा र केही राज्यका सिनेट प्रतिस्पर्धामा डेमोक्र्याट्सलाई अघि देखाएको छ। विगतमा सर्वेक्षण गलत ठहरिएकाले नतिजाबारे सतर्कता छ, र विज्ञहरूले अन्तिम परिणाम मतदानपछि मात्रै थाहा हुने बताएका छन्। १६ कात्तिक, काठमाडौं।
अमेरिकामा मंगलबार हुन लागेको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा विपक्षी डेमोक्रेटिक पार्टीमा उत्साह देखिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको खस्कँदो लोकप्रियता र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिप्रति अमेरिकी जनतामा बढ्दो असन्तुष्टिलाई आफ्नो पक्षमा पार्दै डेमोक्र्याट्सले प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत हासिल गर्ने लक्ष्य राखेका छन्। तर, विगतका निर्वाचनमा जनमत सर्वेक्षणहरू पटक-पटक गलत साबित भएका कारण यसपटकको नतिजालाई लिएर राजनीतिक वृत्तमा सतर्कता र अनिश्चितता पनि छ।
जनमत सर्वेक्षणमा डेमोक्र्याट्सको अग्रता पछिल्ला महिनामा सार्वजनिक भएका जनमत सर्वेक्षणहरूले प्रतिनिधिसभामा डेमोक्र्याट्सले बहुमत हासिल गर्ने सम्भावना बलियो देखाएका छन्। प्रतिनिधिसभामा बहुमतका लागि २१८ सिट आवश्यक पर्छ। सिनेटमा भने प्रतिस्पर्धा अझै कडा छ। केही महत्त्वपूर्ण राज्यमा डेमोक्रेटिक उम्मेदवारहरूले अग्रता बनाएका छन् भने कतिपय राज्यमा प्रतिस्पर्धा बराबरीको अवस्थामा छ। हालै न्युयोर्क टाइम्स र सिएना कलेजले गरेको सर्वेक्षणमा रिपब्लिकनको बलियो पकड रहेको साउथ क्यारोलाइनामा पनि सिनेटका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ।
सन् २०१६ को राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले धेरै सर्वेक्षणको अनुमानविपरीत जित हासिल गरेका थिए। सन् २०२० र २०२४ का निर्वाचनमा पनि सर्वेक्षणहरूले ट्रम्पको वास्तविक मत समर्थनलाई कम आकलन गरेका थिए। ट्रम्पको एउटा विशेषता राजनीतिप्रति निराश वा नियमित मतदान नगर्ने मतदातालाई पनि ठूलो सङ्ख्यामा मतदान केन्द्रसम्म ल्याउन सक्नु हो। यस्ता मतदाताको मत सर्वेक्षणमा समेट्न कठिन हुने गर्छ।
अमेरिकी इतिहासमा मध्यावधि निर्वाचनमा राष्ट्रपतिको दलले प्रायः सिट गुमाउने गरेको छ। यसपटक पनि डेमोक्र्याट्स विपक्षी भूमिकामा छन् भने अर्थतन्त्र र महँगी प्रमुख चुनावी मुद्दा बनेका छन्। ट्रम्पको लोकप्रियतामा आएको गिरावट र जीवनयापनको बढ्दो लागतले डेमोक्र्याट्सलाई फाइदा पुग्न सक्ने आकलन गरिएको छ। यद्यपि, डेमोक्र्याट्सका लागि चुनौती पनि कम छैनन्।
सन् २०२२ को मध्यावधि निर्वाचनमा पनि राष्ट्रपति जो बाइडेनको लोकप्रियता कमजोर हुँदाहुँदै डेमोक्र्याट्सले सिनेटमा आफ्नो बहुमत जोगाएका थिए। यसपटक अन्तिम दिनहरूमा राष्ट्रपति ट्रम्प आफूले सन् २०२४ मा सहजै जितेका राज्यहरूमा समेत पुगेर चुनावी र्याली गरिरहेका छन्। विज्ञहरूका अनुसार सर्वेक्षणको त्रुटि सीमा र अन्तिम समयमा अनिर्णित मतदाताले गर्ने निर्णयले निर्वाचनको नतिजामा ठूलो प्रभाव पार्न सक्छ।

सम्बन्धित खबर









