Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

फ्लोरिडामा विमान दुर्घटनामा ९ जनाको मृत्यु

Advertisement800×200-1

दक्षिणी फ्लोरिडामा मार–ए–लागो नजिक लियरजेट विमान दुर्घटनामा परेर विमानमा सवार सबै नौ जनाको मृत्यु भएको अमेरिकी अधिकारीहरूले बताएका छन्। विमान टेक्सासको अस्टिनबाट बहामासम्म उडेको थियो र दुर्घटनाअघि चालकदलले मध्यम हावाको अशान्ति, बरफ जम्ने समस्या र ‘मेडे’ संकेत दिएको थियो। दुर्घटनापछि मोबाइल घरहरूको बस्तीका करिब ६०० बासिन्दालाई सुरक्षित स्थानमा सारिएको र एफएए तथा राष्ट्रिय यातायात सुरक्षा बोर्डले अनुसन्धान गर्ने जनाएका छन्। १६ कात्तिक, पाम बिच (अमेरिका) (रासस/एएफपी)।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निवास मार–ए–लागोबाट करिब ११ किलोमिटर टाढा दक्षिणी फ्लोरिडामा आइतबार लियरजेट विमान दुर्घटना हुँदा त्यसमा सवार सबै नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अमेरिकी यातायात सचिव सिन डफीले पाम बिच काउन्टीमा भएको दुर्घटनामा विमानमा रहेका सबै नौ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनका अनुसार लियरजेट ६० विमान टेक्सासको अस्टिनबाट बहामासम्म उडेको थियो। पाम बिच काउन्टीको क्रेस्टहेभन नजिकै दुर्घटना भएको विमान व्यस्त सडकछेउमा खसेको थियो।

सामाजिक सञ्जालमा सार्वजनिक भएका अप्रमाणित दृश्यमा विमान तीव्र गतिमा जमिनमा ठोक्किएर ठूलो आगोको मुस्लो उठेको देखिन्छ। फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले घटनालाई विनाशकारी विमान दुर्घटना बताएका छन्। उनले घटनास्थलमा जमिनमा रहेका अन्य व्यक्ति घाइते भएको खबर नआएको जानकारी दिए। दुर्घटनाको समयमा ट्रम्प मार–ए–लागोमा थिए। उनले दुर्घटनास्थलनजिकै रहेको राष्ट्रपति डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११:५५ बजे एयर फोर्स वनमा चढेर प्रस्थान गरेका थिए। विमान दुर्घटना हुनुभन्दा करिब एक घण्टाअघि उनले यात्रा सुरु गरेको जनाइएको छ।

पाम बिच काउन्टीका आयुक्त जोएल फ्लोरेसका अनुसार विमान मोबाइल घरहरूको बस्तीको प्रवेशद्वार नजिकै खसेको थियो। घटनापछि त्यहाँका करिब ६०० बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो। अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) र राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाबारे अनुसन्धान गर्ने जनाएका छन्। दुर्घटनाअघि उक्त क्षेत्रमा आँधीबेहरी आएको बताइएको छ। उडान निगरानीसम्बन्धी वेबसाइट लाइभएटीसी डट नेटमा सार्वजनिक गरिएको हवाई सञ्चारको अभिलेखमा चालकदलले विमानमा मध्यम हावाको अशान्ति र बरफ जम्ने समस्याबारे जानकारी दिएको सुनिन्छ। विमानले वर्षायुक्त क्षेत्रमा प्रवेश गरिरहेको र उचाइ बढाउनुपर्ने बताएको केही समयपछि चालकदलले ‘मेडे’ भन्दै आपत्कालीन सङ्केत दिएको थियो। अभिलेखअनुसार विमान प्रतिमिनेट १० हजार फिटको गतिमा तल झरिरहेको जानकारी दिइएको थियो। केही सेकेन्डपछि झर्ने गति प्रतिमिनेट २० हजार फिट पुगेको उल्लेख गर्दै चालकदलले आपत्कालीन अवस्था घोषणा गरेको सुनिन्छ। सम्पर्क टुट्नुअघि चालकदलका एक सदस्यले विमान जमिनतर्फ खसिरहेको बताएका थिए।


Advertisementadv-800×200.png

सम्बन्धित खबर