

दिल्लीको वायुप्रदूषण चिन्ताजनक, ‘हरित पटका’ प्रयोगको समय तोकियो


भारतको राजधानी नयाँ दिल्लीमा जाडो यामसँगै वायुप्रदूषण उच्च तहमा पुगेको छ। वायुको गुणस्तर निकै खराब स्तरमा पुगेसँगै राजधानीका दशौँ लाख मानिसहरूमा स्वास्थ्य चिन्ताहरू सुरु भएका छन्। हावामा रहने पीएम २.५ मापन गर्ने दिल्लीको वायुको गुणस्तर मापक सूचकाङ्कले ३०० बिन्दु पार गरेको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार वायुप्रदूषणलाई ‘पार्टिक्यल म्याटर’ (पीएम) मा नापिन्छ र २.५ माइक्रोमिटर आकारका वा (पीएम२.५) भन्दा कम व्यासका कणहरू मानव स्वास्थ्यका निम्ति निकै खतरायुक्त हुन्छन्। सानो आकारका कणहरू फोक्सोमार्फत् सीधै हाम्रो रक्तप्रवाहमा मिसिन सक्छन् र मुटु, मस्तिष्क तथा अन्य अङ्गमा जम्मा हुन सक्छन्।
आपत्कालीन कार्यनीति अनुसार, यस्तो प्रदूषित हावा वायुमण्डलमा लामो समय रहिरहँदा मानिसमा श्वासप्रश्वासको समस्या निम्त्याउन सक्छ र बालबालिका तथा वृद्धवृद्धा यसको सबैभन्दा जोखिममा हुन सक्छन्। अधिकारीहरूले धुलो, सवारीबाट हुने उत्सर्जन र प्रदूषणका अन्य स्रोतहरू रोक्ने उपायहरू अपनाउनुपर्ने कार्यनीति लागु गरेर प्रदूषण कम गर्ने प्रयास गरेका छन्। पछिल्ला प्रतिबन्धहरूले नियमित सडक सरसफाइ गर्नुपर्ने, निजी सवारी साधनको प्रयोग निरुत्साहित गर्न पार्किङ शुल्क वृद्धि गर्ने लगायतका उपाय छन्। दिल्ली मेट्रोले सातामा २० वटा सेवा थप गरेको छ।
अधिकारीहरूले ट्राफिक कम गर्नका लागि सरकारी कार्यालय खुल्ने र बन्द हुने समय हेरफेर गर्न निर्देशन दिएका छन्। आगामी दिनमा प्रदूषणका कारण हावाको गुणस्तर थप खराब हुने पूर्वानुमानका कारण यस्तो उपाय अपनाउनुपरेको अधिकारीहरूले बताएका छन्। दीपावलीको चाडको समयमा हरेक वर्ष दिल्ली र उत्तरी क्षेत्रको वायु हानिकारक हुने गरेको छ। अदालतले कम प्रदूषण गर्ने पटका प्रयोग गर्न आदेश दिए पनि गत वर्ष दीपावलीको भोलिपल्ट दिल्लीको वायु निकै विषाक्त बनेको थियो।
सोमवार भारतको सर्वोच्च अदालतले दिल्ली र छिमेकी क्षेत्रमा हरित पटका उत्पादन बिक्री र प्रयोग निश्चित समयका लागि खुला गरेको छ। अदालतले दीपावलीको दुई दिन बिहान एक घण्टा र बेलुकी ८ देखि १० बजेसम्म मात्रै यस्तो पटका पड्काउन अनुमति दिएको छ। हरित पटाकामा परम्परागत आतसबाजीको तुलनामा कम प्रदूषण हुने गरी परिमार्जित रासायनिक मिश्रण प्रयोग गरिन्छ। यद्यपि यसको निगरानी सहज छैन। वायुप्रदूषण चिन्ताजनक हुने अवस्थामा दिल्लीका अधिकारीहरूले हाइब्रिड शिक्षण, घरबाटै काम गर्ने व्यवस्था र निश्चित सवारीसाधनमाथि प्रतिबन्ध लगाउने जस्ता उपाय पनि लागू गरेका छन्।

सम्बन्धित खबर









