

सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको सुनुवाइ शुक्रबार र शनिबार हुने


काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबार र शनिबार हुने भएको छ । सिंहदरबारमा बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सचिवालयले तयार पारेको कार्यतालिका पारित गरेको हो । कार्यतालिकाअनुसार शुक्रबार उजुरीकर्तासँग छलफल गरेपछि प्रस्तावित न्यायाधीशद्वय डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारूको सुनुवाइ हुनेछ । शनिबार जनक पाण्डे र गोकर्ण डाँगीको सुनुवाइ गर्ने तय भएको समिति सभापति बोध नारायण श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार बागचन्दविरुद्ध पाँच, सारूविरुद्ध छ, पाण्डेविरुद्ध १० र डाँगीविरुद्ध सातवटा उजुरी परेका छन् । उजुरीकर्तामध्ये पाँच जनाले चारै जना प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिएका छन् । बिहीबारको बैठकमा प्रस्तावित न्यायाधीशहरूविरुद्ध परेका उजुरी अध्ययनका लागि समिति सदस्यहरूलाई वितरण गरिएको थियो । न्याय परिषद्को असोज २० गते बसेको बैठकले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

सम्बन्धित खबर









