Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

चाडपर्वः ‘धनतेरस’ के हो र सुनचाँदी किन्ने परम्परा कस्तो छ?

Advertisement800×200-1

सांस्कृतिक पात्रो अनुसार कार्तिक कृष्ण त्रयोदशीलाई धन त्रयोदशी पनि भन्ने गरिन्छ। पछिल्ला वर्षहरूमा नेपालमा पनि यो त्रयोदशीका दिन उपभोक्ताहरूले सुनचाँदीलगायत धातु किन्ने व्यवहार चलनकै रूपमा देखिन थालेको छ। तर ‘धनतेरस’ पनि भनिने यसदिनमा बहुमुल्य धातु किन्नु पर्ने भनेर हिन्दू धर्मशास्त्रहरूमा कतै उल्लेख नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य माधवप्रसाद लामिछाने बताउँछन्। नेपाली सुनचाँदी व्यवसायीहरू पनि ‘धनतेरस’का दिन सुनचाँदीलगायत धातु किनेर भित्र्याउने चलन पछिल्ला वर्षहरूमा बढ्दै गएको बताउँछन्।

सुनचाँदी पसलको व्यापार अन्य दिनको तुलनामा यो दिन निकै धेरै बढ्ने गरेको उनीहरूको अनुभव छ। सुनको असर्फी र चाँदीका सिक्का किन्नेहरूको घुइँचो पनि उत्तिकै हुन्छ। कार्तिक कृष्ण त्रयोदशीलाई हिन्दू मान्यता अनुसार आयुर्वेद शास्त्रका प्रणेता भनिने धन्वन्तरि उत्पन्न भएको दिनका रूपमा सम्झिने गरिन्छ। तर मूल्यवान धातुहरू किनेर घरमा भित्र्याउनुपर्ने भन्ने कुरा नेपाली संस्कृतिभन्दा पनि छिमेकी भारतबाट आमसञ्चारका माध्यमहरूमा हुने प्रचारको प्रभावका रूपमा नेपालमा पनि भित्रिएको हुन सक्ने लामिछाने बताउँछन्।

एकजना मानवशास्त्री सुरेश ढकाल पनि सुनचाँदी घरमा भित्र्याउने भन्ने पछिल्ला वर्षहरूमा चर्को रूपमा देखिन थालेको प्रवृत्ति सांस्कृतिक, धार्मिक तथा आर्थिक कुनै पनि दृष्टिकोणले उचित नदेखिएको विचार व्यक्त गर्दछन्। एकडेढ दशकयता नेपालमा पनि मानिसहरूले ‘धनतेरस’का दिनमा सुनचाँदी किन्ने गरे पनि गत वर्ष मूल्य अत्यधिक बढेका कारण बिक्री कम भएको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ।

नेपाल राष्ट्र बैङ्कले पनि तिहारको छेकोमा सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्ने गरेको छ। बबरमहलस्थित टक्सार महाशाखामा मानिसहरूको भिड लागेको थियो। सर्वसाधारणले शुक्रवारसम्म प्रतिव्यक्ति २.५ ग्रामको एउटा सुनको असर्फी, लक्ष्मी र गणेशअङ्कित १० ग्रामका चाँदीका दुई थान मेडालियन खरिद गर्न पाउने व्यवस्था गरिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले भारतीय टेलिभिजन कार्यक्रमको प्रभावले नेपालमा पनि मानिसहरूले धनतेरसमा सुनचाँदी किन्न थालेको आफ्नो अनुभव रहेको बताए।


Advertisementadv-800×200.png

सम्बन्धित खबर