

सरकारी विद्यालयहरूमाथि नक्कली विद्यार्थी खडा गरेर भ्रष्टाचारको आशङ्का, छानबिन सुरु


विद्यार्थीहरूको अभिलेख राख्ने सरकारी प्रणालीमा लाखौँ विद्यार्थीको विवरण दोहोरिएको पाइएपछि ‘फर्जी विवरण’को आशङ्कामा विद्यालयहरूमाथि सरकारले अनुसन्धान सुरु गरेको अधिकारीहरूले बताएका छन्। विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा देशभरि १०+२ तहसम्म अध्यापन गराउने निजी र धार्मिकसहित ३९,५०० भन्दा बढी विद्यालयका ८२ लाख ८१,००० विद्यार्थीको विवरण समावेश गरिएको छ।
शिक्षा मन्त्रालयका अधिकारीहरूले दुई लाखभन्दा बढी विद्यार्थीहरूको विवरण दोहोरिएको र त्यसका कारण राज्यकोषबाट निकासा हुने अनुदान, छात्रवृत्ति, दिवाखाजा, पोसाकसहितका सेवासुविधाको दुरुपयोग हुन सक्ने जनाएका छन्। सरकारले गठन गरेको अध्ययन तथा अनुगमन समितिलाई १५ दिनको समयावधि तोकिएको छ।
शिक्षा मन्त्रालयको खेलकुद तथा विद्यालय शिक्षा महाशाखा हेर्ने सहसचिव शिवकुमार सापकोटाको संयोजकत्वमा गठित समितिलाई विद्यार्थीहरूको विवरणमा देखिएको दोहोरोपनलाई गम्भीरतापूर्वक हेरेर देखिएका समस्यालाई सम्बोधन गरिने बताउँछन्। उनले भने, “हामीले कुनै संरचनागत समस्या, कानुनी सवाल वा दैनिक कामकारबाहीसँग मात्रै जोडिएका विषयहरू हुन या कुनै व्यक्तिको नियतको समस्या हो त्यो सबै केलाउँछौँ।”
शिक्षामन्त्री सस्मित पोखरेलको सचिवालयले जारी गरेको विज्ञप्तिमा दोहोरो विवरण प्रविष्ट गरेर सेवासुविधा र अनुदानको दुरुपयोग गरेको पाइए भने त्यसलाई कारबाही गरिने बताए। मन्त्री पोखरेललाई उद्धृत गर्दै उनका सचिवालयले भनेको छ, “हामीले यस विषयलाई गम्भीरताका साथ हेरेका छौँ। यसरी दोहोरो विवरण भरेर रकम दुरुपयोग भइरहेको देखिन्छ।”

सम्बन्धित खबर









