Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्त

Advertisement800×200-1

गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मालाई प्रदेश सरकारले बर्खास्त गरेको छ। ३० असारको पदक वितरणमा छनोट समितिमै रहेका व्यक्तिहरूलाई पदक दिएपछि विवाद उत्पन्न भएको थियो। यस विवादको छानबिनका लागि समिति गठन गरिएको थियो। सरकारले युवा तथा खेलकुद महाशाखा प्रमुख उपसचिव दिपेन्द्र परियारलाई कार्यवाहक सदस्य सचिवको जिम्मेवारी दिएको छ।

खेलकुद पदक वितरणमा मनपरी गरेको आरोप लागेका श्रीधर शर्मा बर्खास्तमा परेका हुन्। गण्डकी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सदस्य सचिव शर्मालाई बर्खास्त गर्ने निर्णय गरेको हो। ३० असारमा वितरण गरिएको पदक विवादित भएपछि सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरेकी थिइन्। उक्त समितिको प्रतिवेदनका आधारमा सदस्य सचिव शर्मालाई बर्खास्त गरिएको मन्त्रिपरिषद् स्रोतले जनाएको छ।

गण्डकी प्रदेश खेलकुद परिषद्ले ३० असारमा पोखरा रंगशालामा विशेष समारोह आयोजना गरी ‘गण्डकी प्रदेश खेलकुद पदक’ बाट ६ खेलाडी तथा प्रशिक्षक र चार खेल संघलाई सम्मान गरेको थियो। खेलाडीतर्फ भलिबलकी अरुणा शाही, आईटीएफ तेक्वान्दोकी सुस्मिता थापा मगर, आर्चरीका योगेन्द्र शेरचन र असिम शेरचन हुँदा क्रिकेट प्रशिक्षकतर्फ रिजन प्रजु सम्मानित भएका थिए। खेलकुद पत्रकारितातर्फ केशव पाठक र संघ–संस्थातर्फ नेपाल भूतपूर्व खेलाडी मञ्चलाई पदक प्रदान गरिएको थियो।

छनोट समितिमै रहेका व्यक्तिहरुलाई पदक दिएपछि विवाद सिर्जना भएको थियो। खेलकुद पत्रकारिता विधामा पदक पाएका केशव पाठक पदक सिफारिस समितिका सदस्य हुन्। उनी यसअघि परिषद्का सदस्य एवम् कार्यवाहक सदस्य सचिवसमेत भइसकेका थिए। पदक सिफारिस समितिका सदस्य हरि पराजुली आवद्ध रहेको नेपाल भूतपूर्व खेलाडी मञ्चले संघ–संस्थातर्फको पदक पायो। पदक सिफारिस समितिका सदस्य चित्रबहादुर थापा अध्यक्ष रहेको प्रदेश ह्यान्डबल संघले पनि उत्कृष्ट खेल संघको पदक हात पाएको थियो। शर्माको कार्यकाल आउँदो बैशाखसम्म थियो। उनी २०८० को वैशाखमा ४ वर्षका लागि सदस्य सचिव नियुक्त भएका थिए।


Advertisementadv-800×200.png

सम्बन्धित खबर