

पोल्यान्डको क्राकोमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु, १६ घाइते


पोल्यान्डको क्राकोमा २५ वर्षीय पोलिस नागरिकले अन्धाधुन्ध गोली चलाउँदा बेलायती नागरिकसहित ६ जनाको मृत्यु भएको छ। मेन मार्केट स्क्वायरमा भएको आक्रमणमा १६ जना घाइते भएका छन्, जसमध्ये पाँच विदेशी, दुई प्रहरी र आक्रमणकारीसमेत छन्। प्रधानमन्त्री डोनाल्ड टस्कले आक्रमणकारीको घरमा खानतलासी गर्दा दुई महिला र एक पुरुषका थप तीन शव भेटिएको बताएका छन्। २२ कात्तिक, काठमाडौं।
पोल्यान्डको दोस्रो ठूलो सहर क्राकोमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा बेलायती नागरिकसहित कम्तीमा ६ जनाको मृत्यु भएको छ। घटनामा १६ जना घाइते भएका छन्। आक्रमणकारीको सम्बन्ध दक्षिणपन्थी अतिवादी समूहसँग रहेको आशंका गरिएको छ। प्रहरीका अनुसार २५ वर्षीय पोलिस नागरिकले क्राकोको व्यस्त पर्यटकीय क्षेत्र मेन मार्केट स्क्वायरमा कारबाटै गोली चलाएका थिए। घटनामा चार महिला र दुई पुरुष गरी ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
स्थानीय समयअनुसार दिउँसो करिब ३ बजेतिर आक्रमण सुरु हुँदा उक्त क्षेत्रमा ठूलो संख्यामा मानिसहरूको आवतजावत थियो। प्रत्यक्षदर्शीका अनुसार गोली चलेपछि मानिसहरू ज्यान जोगाउन भागाभाग गरेका थिए। सूचना पाएलगत्तै सशस्त्र प्रहरी घटनास्थल पुगेको थियो। प्रहरी र आक्रमणकारीबीच पनि गोली हानाहान भएको थियो। आक्रमण सुरु भएको तीन मिनेटभित्रै प्रहरीले उनलाई गोली हानेर नियन्त्रणमा लिएको अधिकारीहरूले बताएका छन्। घटनामा संलग्न ती युवकलाई गोली लागेकाले उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
घटनास्थलको एक भिडियोमा प्रहरी–ती युवकबीच पटकपटक गोली हानाहान भएको देखिन्छ। त्यसपछि एक प्रहरी पनि घाइते भएर भुइँमा ढलेको पनि देखिन्छ। आक्रमणका क्रममा एउटा सार्वजनिक गाडीमा समेत गोली लागेको थियो। गोली लागेर सो गाडीका सिसा फुटे पनि त्यसमा सवार यात्रुहरूलाई भने केही नभएको बीबीसीले जनाएको छ। घटनापछि नगर प्रशासनले स्थानीय बासिन्दा र पर्यटकलाई उक्त क्षेत्रमा नजान आग्रह गरेको छ।

सम्बन्धित खबर









