

इजरायलका नयाँ प्रधानमन्त्री गादी आइजनकोटको परिचय


इजरायली राष्ट्रपति इसाक हर्जोगले विपक्षी गठबन्धनका नेता गादी आइजनकोटलाई नयाँ सरकार गठनको जिम्मेवारी दिएका छन्। पूर्वसैनिक प्रमुख आइजनकोटले नेतन्याहूलाई जवाफदेही बनाउने, अक्टोबर ७ को आक्रमणबारे छानबिन गराउने र हमासको शासन १८ महिनाभित्र अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले दक्ष नागरिक पलायन रोक्ने, समान सेवा कानून ल्याउने र यहुदी बस्ती विस्तारलाई कानुन र राष्ट्रिय हितअनुसार अघि बढाउने योजना सार्वजनिक गरेका छन्।
आइजनकोट लामो समयदेखि इजरायलको राजनीतिमा प्रभाव जमाउँदै आएका बेन्जामिन नेतन्याहूलाई चुनौती दिइरहेका छन्। उनले सन् २०२२ मा औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका थिए र नेसनल युनिटी पार्टीबाट इजरायली संसदका सदस्य बनेका थिए। पछि वैचारिक मतभेदका कारण उक्त पार्टी छाडे र मध्यमार्गी दल ‘यासर’ गठन गरे। यस निर्वाचनमा नेतन्याहूको दक्षिणपन्थी लिकुड पार्टीले १२० सदस्यीय संसद्मा ५३ सिट जितेको छ भने आइजनकोटको नेतृत्वमा रहेको यासर पार्टी र अन्य विपक्षी दलले ४८ सिट जितेका छन्।
आइजनकोटको व्यक्तिगत जीवनमा पनि एक दुःखद घटना जोडिएको छ। उनका कान्छा छोरा मास्टर सार्जेन्ट गाल आइजनकोटको सन् २०२३ डिसेम्बरमा उत्तरी गाजामा भएको विस्फोटमा मृत्यु भएको थियो। उनले ‘द टाइम्स अफ इजरायल’सँग भनेका थिए, ‘मैले अहिलेसम्म ती बाकस खोलेको छैन। म यसलाई लगातार टारिरहेको छु।’ आइजनकोटले नेतन्याहूलाई जवाफदेही बनाउने योजना बनाएका छन् र उनले विपक्षी दलका केही नेतासँगै प्रधानमन्त्री नेतन्याहूको युद्ध मन्त्रिपरिषद्मा सहभागी भएका थिए।
आइजनकोटले १० बुँदे कार्यक्रममा आपत्कालीन योजना सुरु गर्ने प्रतिबद्धता पनि समेटेका छन्। यस योजनामार्फत ठूलो संख्यामा इजरायल छाडेर विदेश गइरहेका दक्ष नागरिकलाई रोक्ने र नयाँ आप्रवासीलाई इजरायल आउन प्रोत्साहित गर्ने लक्ष्य राखेका छन्। उनले समान सेवा कानुन पारित गर्ने योजना पनि बनाएका छन्, जसअन्तर्गत सबै इजरायली नागरिकका लागि सैनिक, राष्ट्रिय वा नागरिक सेवा गर्नुपर्नेछ।

सम्बन्धित खबर









