

डोनाल्ड ट्रम्पले शत्रुहरूलाई माफ नगर्ने बताएका छन्


सिबिएस न्युजको ‘६० मिनेट’ अन्तर्वार्तामा राष्ट्रपति डोनाल्ड ट्रम्पले शत्रुहरूलाई माफ गर्न नसक्ने र नरक जानुपरे पनि मन्जुर रहेको बताएका छन्। ट्रम्पले जेम्स कोमी, न्यान्सी पेलोसीलगायत विरोधीहरूलाई देशका लागि खराब र बेइमान मानिसहरू भन्दै माफी अस्वीकार गरे। ट्रम्पको अभिव्यक्तिपछि अमेरिकी धार्मिक र राजनीतिक वृत्तमा बहस सुरु भएको छ, र आगामी दिनमा तिक्तता बढ्न सक्ने विश्लेषण गरिएको छ।
राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक विरोधीहरूलाई कहिल्यै माफ नगर्ने र त्यसका लागि मरेपछि स्वर्गको ढोका बन्द भएर नरक वा मध्यलोक (पर्गेटरी) मा बस्नुपरे पनि मन्जुर रहेको अप्रत्याशित अभिव्यक्ति दिएका छन्। आइतबार राति प्रसारित सिबिएस न्युजको चर्चित कार्यक्रम ‘६० मिनेट’ मा पत्रकार रस डुथाटसँगको अन्तर्वार्ताका क्रममा ट्रम्पले इश्वरको न्यायको अगाडि उभिनुपरे पनि आफूले शत्रुहरूप्रति क्षमाभाव राख्न नसक्ने स्पष्ट पारेका छन्।
अन्तर्वार्तामा डुथाटले ट्रम्पलाई सोधेका थिए, ‘के तपाईं मरेपछि स्वर्ग जानुहुन्छ भन्ने लाग्छ?’ ट्रम्पले गम्भीर हुँदै जवाफ दिएका थिए, ‘म त्यस्तै आशा गर्छु, म नरक जान चाहन्नँ।’ ट्रम्पले भनेका छन्, ‘मेरो उत्तर हुँदैन नै हो। म इमानदार हुन चाहन्छु। ईश्वरको न्यायको अगाडि उभिनुपरे पनि म उनीहरूलाई माफ गर्न सक्दिनँ। उनीहरू निकै खराब मानिसहरू हुन्।’
अन्तर्वार्तामा ट्रम्पले आफ्ना शत्रुहरूलाई घृणा गर्ने र उनीहरूको राम्रो भएको हेर्न चाहन नहुने कुरा पनि बताएका छन्। यो अन्तर्वार्ता सार्वजनिक भएसँगै ट्रम्पको यो अभिव्यक्तिलाई लिएर अमेरिकी धार्मिक तथा राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। विश्लेषकहरूका अनुसार, मध्यावधि निर्वाचनको धक्का र कङ्ग्रेसमा डेमोक्रेट्सको सम्भावित कडा छानबिनका बिच ट्रम्पको यो आक्रामक रूपले वासिङ्टनमा आगामी दिनहरूमा राजनीतिक तिक्तता अझ बढाउने सङ्केत गरेको छ।

सम्बन्धित खबर









