

टर्कीको स्टिल उद्योगमा भीषण विस्फोट, १२ जनाको मृत्यु, ४ भन्दा बढी घाइते


टर्कीको इजमिर सहरनजिकैको हबास डेमिर सेलिक स्टिल प्लान्टमा विस्फोट हुँदा १२ मजदुरको मृत्यु भएको छ। विस्फोटमा अन्य चार जनाभन्दा बढी घाइते भएका छन्। स्थानीय गभर्नरका अनुसार नयाँ बोयलर क्रेनमार्फत ओसार्ने क्रममा क्रेन खसेपछि भट्टीमा उपकरण खस्दा दुर्घटना भएको थियो।
२४ कात्तिक, काठमाडौं। टर्कीको पश्चिमी क्षेत्रमा पर्ने इजमिर सहरनजिकै एक स्टिल उद्योगमा विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ। अलियागास्थित हबास डेमिर सेलिक स्टिल प्लान्टमा भएको विष्फोटमा अन्य चार जनाभन्दा बढी घाइते भएका छन्। मृत्यु हुने र घाइते हुने सबै उद्योगमा कार्यरत मजदुर हुन्।
घटनास्थलबाट सार्वजनिक भएका भिडियोमा उद्योग परिसरभित्र भीषण आगलागी भएको र आकाशमा धुवाँको ठूलो मुस्लो उठेको देखिएको छ। स्थानीय गभर्नरका अनुसार सोमबार दिउँसो भएको दुर्घटना नयाँ बोयलर क्रेनमार्फत ओसार्ने क्रममा भएको थियो। बोयलर लैजाँदै गरेको क्रेन अचानक खसेपछि त्यससँग सम्बन्धित उपकरण तल रहेको भट्टीमा खसेको थियो। त्यसलगत्तै शक्तिशाली विस्फोट भएको बताइएको छ।
टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानले सुरुमा दुर्घटनामा ११ जनाको मृत्यु भएको जानकारी दिएका थिए। पछि स्वास्थ्य मन्त्री केमल मेमिसोग्लुले गम्भीर घाइते एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेपछि मृतकको संख्या १२ पुगेको जानकारी दिएका छन्।

सम्बन्धित खबर









