Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

बिर्सने रोग डिमेन्शा पहिचानका लागि यूकेमा एआई परियोजना

Advertisement800×200-1

बिर्सने रोग ‘डिमेन्शा’ रोकथाम र पहिचानका लागि आर्टिफिशियल इन्टेलिजेन्स (एआई) र तथ्याङ्क प्रणाली विकास गर्न यूकेमा दुई करोड पाउन्ड खर्च गरेर अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ। यूकेको एक्सिटर विश्वविद्यालयको नेतृत्वमा रहने ‘ब्रेनिआक हब’ लाई यूकेको एउटा अनुसन्धान संस्था र न्याश्नल हेल्थ सर्भिस ‘एनएचएस’का साझेदारहरूले एक-एक करोड पाउन्ड अनुदान दिने घोषणा गरेका हुन्। विश्वविद्यालयका अनुसार उक्त केन्द्रले मस्तिष्कको इमेजिङ, आनुवंशिक जानकारी, रक्तसम्बन्धी जैविक जानकारी र डिजिटल सङ्ज्ञानात्मक परीक्षणलाई संयोजन गर्ने एआई विकास गर्ने छ। यसले व्यक्तिको मस्तिष्क स्वास्थ्यको “एउटै स्पष्ट चित्र” तयार गर्न मद्दत गर्ने दाबी गरिएको छ।

यो अनुदान छ वर्षे परियोजनाका लागि प्रदान गरिएको हो, जसअन्तर्गत डिमेन्शाको पहिचान र रोकथामका लागि सुरुआती क्लिनिकहरू सन् २०२९ मा सञ्चालनमा आउने छन्। सुरुमा ती क्लिनिकमा एनएचएसमार्फत्‌ सिफारिस गरिएका व्यक्तिहरू मात्रै जाने छन्। विश्वविद्यालयले ब्रेनिआक अर्थात् “एआईमा आधारित इन्जिनियरिङ प्रविधिमा आधारित आउने पुस्ताका लागि मस्तिष्क स्वास्थ्य क्लिनिक” ले छ वर्षको अवधिमा ११ वटा विश्वविद्यालय र १० वटा एनएचएस केन्द्रलाई एकै ठाउँमा ल्याउने जनाएको छ। परियोजनामा यूकेभरिका १० वटा मस्तिष्क स्वास्थ्य क्लिनिक सहभागी हुने छन्।

डिमेन्शाको पहिचान, रोकथाम र उपचारका प्रभावकारी उपायबारे अनुसन्धान गर्न यो विश्वकै ठूला अनुसन्धान निकायमध्येको एक बन्ने लक्ष्य राखिएको छ। यी क्लिनिकहरूले डिमेन्शाको जोखिम घटाउने र रोग पहिचान हुन लाग्ने समय आधा घटाउने लक्ष्य राखेका छन्। ब्रेनिआकका निर्देशक तथा विश्वविद्यालयको मेडिकल स्कुलका क्लिनिकल एपिडेमियोलोजी र डिजिटल स्वास्थ्य विषयका प्राध्यापक डेभिड लुवेलिन सुरुआती चरणमै रोक पहिचान गर्नु “सबैभन्दा कठिन समस्या” भएको बताउँछन्। “यी एनएचएस क्लिनिकमार्फत्‌ हामीले विकास गर्ने उपकरणले लक्षण देखिनुअघि नै सुरुआती सङ्केत पहिचान गर्न मद्दत गर्ने छ। यसले मानिसहरूलाई आफ्नो मस्तिष्क लामो समयसम्म स्वस्थ राख्ने उपायहरू पनि सुझाउँछ,” लुवेलिन भन्छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर