टाइटनिकभन्दा लामो जहाजलाई अन्ततः समुद्रमा डुबाइयो। कुनै बेला संसारमै सबैभन्दा तीव्र गतिमा चल्ने भनेर नाम कमाएको एउटा पानीजहाजलाई फ्लोरिडानजिकै समुद्रमा योजनाबद्ध तरिकाले डुबाइएको छ। ‘एसएस यूनाइटेड स्टेट्स’ नामक उक्त जहाजको लम्बाइ ३०२ मिटर छ। अर्थात् त्यो ‘टाइटनिक’भन्दा पनि लामो छ। उक्त पानीजहाज अब समुद्रको पीँधमा संसारको सबैभन्दा ठूलो कृत्रिम ‘रीफ’ बन्ने छ।
फ्लोरिडा पठाइनुअघि उक्त पानीजहाजलाई फिलडेल्फिआस्थित बन्दरगाहमा झन्डै ३० वर्ष राखिएको थियो। समुद्रमा डुबाइएको उक्त जहाज अब समुद्री जीवहरूको “घर” बन्ने र समुद्रबारे रुचि राख्ने मानिसहरू त्यहाँ आकर्षित हुने ठानिएको छ। मार्लन ब्र्यान्डो, कोको शनेल, ड्यूक एलिङ्टन, साल्भाडोर डाली, वाल्ट डिज्नी, ज्यूडी गार्लन्ड र केरी ग्र्यान्टजस्ता हस्तीहरूले पनि कुनै बेला उक्त पानीजहाजमा यात्रा गरेका थिए।