Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

आईजीपी प्रकरणमा सरकारसँग जवाफ मागे कांग्रेस महामन्त्री पौडेलले

Advertisement800×200-1

जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रहरी महानिरीक्षक (आईजीपी) प्रकरणमा सरकारले लिएको निर्णय र प्रधानमन्त्रीका सल्लाहकारसँग जोडिएको मोबाइल सन्देशबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् ।

शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले आफूलाई दोष लाग्न सक्ने सन्देश मेटाएर अरूमाथि आरोप लगाउने विषय प्रधानमन्त्रीका सल्लाहकारले मोबाइल सन्देशमार्फत पठाएको दाबी गरे । उनले यस्तो विषय उठेपछि सल्लाहकार पदमा रहिरहनु नैतिक रूपमा उचित हुन्छ कि हुँदैन भन्ने प्रश्न गरे ।

पौडेलले प्रधानमन्त्री र उनका सल्लाहकारमाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने बताए । पक्राउ, थुना र छानबिनमा कानुनी प्रक्रिया पालना गर्नुपर्नेमा जोड दिँदै उनले कांग्रेस सभापति र पार्टीका अन्य नेतामाथि पनि कानुनसम्मत छानबिन गर्न आफूहरू तयार रहेको बताए ।

‘दुई तिहाइको जनमत प्राप्त गर्दैमा सरकारले जे गरे पनि स्वीकार गर्नुपर्छ र सरकारमाथि प्रश्न उठाउन पाइँदैन भन्ने हुँदैन । सरकारले आफू र आफ्ना जिम्मेवार पदाधिकारीमाथि उठेका प्रश्नको जवाफ दिनुपर्छ,’ पौडेलले भने ।

सरकारलाई प्रश्न गर्ने नागरिकको अधिकार कुण्ठित गर्दा लोकतन्त्र कमजोर हुने उनको भनाइ थियो । उनले बिचौलियाको चलखेल अन्त्य गर्ने नाममा राजनीतिक प्रतिशोध साँध्ने काम नगर्न र निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न सरकारलाई आग्रह गरे ।

यसैविचपौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले कांग्रेसको नेतृत्व चयन र आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । पौडेलले सरकारको नेतृत्व अन्य दलमा कसलाई सभापति बनाउने, कसलाई बलियो बनाउने र कुन दललाई कमजोर पार्ने भन्ने खेलमा लागेको आरोप लगाए । विगतमा केही दलका नेताले गठबन्धनमार्फत राजनीतिक सिन्डिकेट चलाउन खोजेको र कांग्रेसले त्यसलाई तोडेको दाबी गर्दै उनले अहिले त्यही अभ्यास दोहोर्‍याउन खोजिएको बताए ।

‘सरकारले आफ्नो कार्यशैलीमा परिपक्वता देखाउन सकेन । बलियो जनमत र दुई तिहाइको समर्थन हुँदाहुँदै पनि सरकार लोकतान्त्रिक मूल्य, विधि र कानुनी शासनभन्दा माथि रहेर सञ्चालन हुन खोज्यो,’ पौडेलले भने ।

कुनै पनि व्यक्ति वा सरकार कानुनभन्दा माथि हुन नसक्ने बताउँदै पौडेलले विधिको शासन कायम गर्नु गणतन्त्रको आधार भएको उल्लेख गरे । उनले सरकारलाई निर्वाचनबाट पाएको जनमतअनुसार नागरिकका पक्षमा काम गर्न आग्रह गरे ।

लोकतन्त्रमा फरक मतको सम्मान गर्नुपर्ने बताउँदै पौडेलले सरकारमाथि उठेका प्रश्नको जवाफ दिन र गल्ती भए स्वीकार गरेर सच्याउन आग्रह गरे ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर