

काठमाडौं। मकवानपुरको भीमफेदीमा बिहीबार भएको ईभी माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका १४ जनाका परिवारलाई क्षतिपूर्ति र बिमा रकम उपलब्ध गराउने प्रक्रिया सरकारले अघि बढाएको छ। दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने तीन जनाको उपचार जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक माइक्रोबस भीमफेदी गाउँपालिका–६ स्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डबाट करिब ५०० मिटर तल खसेको थियो।
मृतकमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–९, सुन्दरपुरका बासिन्दा हुन्। अर्का मृतक काभ्रेका सवारी चालक रहेको विज्ञप्तिमा उल्लेख छ। उपचाररत घाइतेहरू चितवनको मनकामना अस्पताल र ललितपुरको मेडिसिटी अस्पतालमा छन्। उनीहरूको उपचारमा कुनै कमी हुन नदिन सरकारले सम्बन्धित अस्पताललाई निर्देशन दिएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र प्रचलित बिमा कानुनअनुसार घाइतेको उपचार खर्च तथा मृतकका परिवारले पाउने क्षतिपूर्ति र बिमा रकम यथाशीघ्र उपलब्ध गराउन सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। दुर्घटनाको कारण पत्ता लगाउन मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई यस्ता दुर्घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायसहित सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।

सम्बन्धित खबर











