

काठमाडौं। नेपाली कांग्रेसले सडक दुर्घटनाका कारण अध्ययन गरी जोखिम घटाउने उपाय पहिचान गर्न सरकारसँग उच्चस्तरीय कार्यदल गठनको माग गरेको छ। मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै कांग्रेसले सडक सुरक्षासम्बन्धी नीति र कार्यान्वयनमा सुधार गर्न सरकारको ध्यानाकर्षण गराएको हो।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले शुक्रबार जारी गरेको विज्ञप्तिमा देशभर सडक दुर्घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भएको उल्लेख छ। कांग्रेसले तत्काल कार्यदल गठन गरी दुर्घटनाका कारण अध्ययन गर्न तथा सडक सुरक्षा, सवारीसाधनको अवस्था, चालकको जिम्मेवारी र यातायात व्यवस्थापनमा देखिएका कमजोरी पहिचान गरेर सुधारका उपाय लागू गर्न माग गरेको छ।
काठमाडौंबाट सर्लाहीको चक्रघट्टा गाउँपालिका–९, सुन्दरपुरतर्फ जाँदै गरेको ईभी माइक्रोबस बिहीबार बिहान चिसापानीगढीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। कांग्रेसले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। पार्टीले मृतकका परिवारलाई तत्काल उचित राहत दिन र घाइतेको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ।

सम्बन्धित खबर











