

भोटेकोशी-त्रिशूली बाढी: गर्भवती महिलाहरूको लागि थप चुनौती


गत भदौ महिनामा भोटेकोशी र तल त्रिशूलीमा आएको बाढीले सो क्षेत्रमा बसोबास गर्दै आएका हजारौँ मानिसको जनजीवनमा उथलपुथल ल्याउँदा त्यहाँका गर्भवती महिलाहरू थप चुनौती बेहोर्न बाध्य भएका छन्। घरबास उजाडिनुका साथै सडकमार्ग अवरुद्ध भएपछि नियमित चेकजाँच तथा औषधोपचार बिथोलिँदा महिलाहरू जोखिममा पर्न सक्ने चेतावनी जानकारहरूले दिएका छन्। यस परिस्थितिमा सन्तान जन्माउने तयारी अवस्थामा रहेका गर्भवती महिलाहरुलाई खानपानदेखि सुरक्षित बसोबासका विशिष्ट आवश्यकताहरू आइपर्ने वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. जागेश्वर गौतमले बताएका छन्।
बाढीले धेरै प्रभावित रसुवा जिल्लाका केही महिलाहरूले गर्भमा हुर्कँदै गरेका शिशुका लागि आफूलाई आवश्यक पोषणयुक्त खानेकुराको अभाव रहेको साथै विभिन्न जोखिमहरू भएको बताए। केही समयअगाडि कुरा गर्दा उत्तरगया नगरपालिकाकी ३० वर्षकी नवीना घिमिरेले तेस्रो सन्तान जन्माउने तयारीमा थिइन्। “अहिलेको बच्चा जन्माउने बेला डर लागिरहेको छ। खानपिनको राम्रो व्यवस्था छैन। राम्ररी जँचाउन पाएको छैन। बाटो नै छैन,” उनले भनेकी थिइन्। उनका अनुसार केही साताअघि उनलाई त्रिशूली अस्पताल पुग्न झन्डै साढे तीन घण्टा लागेको थियो।
उनका अनुसार अस्पतालमा गर्भवती महिलाको लागि छुट्टै सेवासुविधा आवश्यक छ। अनि विपद्पश्चात् पोषिलो खानेकुराको अभाव रहेको उनको अनुभव छ। स्थानीय सरकारले गर्भवती महिलाहरूका लागि भनेर एक पटक लिटोको पिठो, घिउ, गेडागुडी बाँडेको भए पनि आफूले त्यसबारे बेलैमा जानकारी नपाएको उनको भनाइ छ। रसुवाको उत्तरगया-४ की माइली लामा पनि तेस्रो सन्तान जन्माउने तयारीका बेला आइपरेको विपद्ले चिन्तित थिइन्।
विपद्को बेला गर्भवती महिलाहरूलाई थप जोखिम हुन सक्छ। “विपद्को बेला खानपानको ठूलो समस्या हुन्छ। गर्भवती महिलाहरूले स्वास्थ्य चेकजाँचसँगै नियमित आइरन, क्याल्सिअम, फोलिक एसिडजस्ता औषधि सेवन गर्नुपर्छ। सरकारले दिने आवश्यक खोपहरू लगाउनुपर्छ,” डा. गौतमले भने। बाढीबाट प्रभावित रहेका गर्भवती महिलाहरूले एकदम अप्ठ्यारो बाटो यात्रा गर्दा गर्भपतनको जोखिम बढ्छ।
बाढीले गर्दा डर, त्रासमा रहेका, आफन्त गुमाएका गर्भवती महिलाहरूलाई मानसिक रूपमा बलियो बनाउनुपर्ने र उनीहरूलाई खुशी बनाउने वातावरण बनाउनुपर्छ। पोषिलो खाना नपाउँदा कुपोषण अनि जन्मिएको बच्चामा तौल नबढ्ने, पुड्कोपन, बच्चा सानो जन्मिने समस्या देखा पर्न सक्छ। त्यसैले विपद्को बेला गर्भवती महिलाहरूलाई राम्रोसँग हेरचाह गर्नुपर्छ।

सम्बन्धित खबर









