

बालेन शाहको कूटनीति: दिल्ली भ्रमणमा नेपाल-भारत सम्बन्धका मुद्दाहरूको चर्चा हुने अपेक्षा


भारतले नेपाली प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को छिट्टै हुने भनिएको दिल्ली भ्रमणका क्रममा नेपाल-भारत सम्बन्धका समग्र पक्षमा छलफल हुने बताइरहेका बेला कूटनीतिक मामिलाका जानकारहरूले नेपालले आफ्ना तर्फबाट पूर्वतयारी गर्नुपर्ने र विगतमा थाँती रहेका परियोजनाहरूको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन्। प्रधानमन्त्री शाहले नोभेम्बर २२ बाट तीनदिने भारत भ्रमणको सुरुवात गर्ने समाचार सार्वजनिक भए पनि दुवै देशका अधिकारीहरूले भ्रमणको मिति र भेटघाटको तालिकाबारे औपचारिक घोषणा गरिसकेका छैनन्। हालै भारतका लागि प्रस्तावित नेपाली राजदूत निश्चलनाथ पाण्डेको एग्रिमो भारतले स्वीकार गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्ति पाएलगत्तै उनी शाहको भ्रमणको तयारीलाई समेत ध्यान दिएर जिम्मेवारी सम्हाल्न दिल्ली जान लागेको बीबीसीले थाहा पाएको छ।
भारतको उत्तराखण्ड राज्यका एक मन्त्रीले प्रधानमन्त्री शाहले उक्त राज्यको पनि भ्रमण गर्न सक्ने भन्दै त्यसबेला पञ्चेश्वर परियोजना, बन्दरगाह निर्माण र पर्यटन प्रवर्द्धनसहितका अजेन्डामा छलफल हुने बताएका छन्। नेपाल सरकारका अधिकारीहरूले विभिन्न निकायहरूले भ्रमणका अजेन्डाबारे गृहकार्य गरिरहेको बताइरहँदा विज्ञहरूले नेपाल-भारत सम्बन्धको संवेदनशीलतालाई बुझेर सरकार अघि बढ्नुपर्नेमा जोड दिएका छन्। द्विदेशीय सम्बन्धका एक जानकारले प्रधानमन्त्री शाहले ‘कर्मकाण्डी’ भ्रमण नचाहेको भारतले बुझेको उल्लेख गर्दै दुई देशबीचका कतिपय सवालहरूलाई औपचारिक वार्ताको प्रक्रियामा ल्याउन सक्नु मात्रै पनि सरकारको उपलब्धि हुने बताएका छन्।
प्रधानमन्त्री शाहले नेपाल-भारत सम्बन्धमा विश्वासको वातावरण बलियो बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका उनले नेपालका लागि छिमेकी देशहरूसँगको सम्बन्ध सर्वाधिक महत्त्वको रहेको बताए। उनले भने, “मोदीजीले सन् २०१४ मा नेपालको भ्रमण गर्दा गरेका धेरै प्रतिबद्धताहरूको कार्यान्वयन बाँकी नै छन्। सहमति भएका तर कार्यान्वयन हुन नपाएका परियोजनाहरू अघि बढाउन जोड दिनुपर्छ।” यसबीचमा दिल्लीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भव्य स्वागत दिएको थियो र उनले आफ्नो भारत भ्रमणका क्रममा ‘हिन्दुस्तान टाइम्स’ अखबारमा एउटा लेख लेख्दै आफूहरूले “पुरानो बोझ नबोक्ने” भन्दै परम्परागत राजनीतिज्ञका उग्रराष्ट्रवादी अभिव्यक्तिलाई अस्वीकार गर्ने बताएका थिए।

सम्बन्धित खबर









