

काठमाडौँ । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीले नेपालको मौसममा कुनै पनि उल्लेखनीय प्रभाव नपार्ने मौसमविद्ले स्पष्ट पारेका छन् । जल तथा मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालले उक्त प्रणाली गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुँदै चक्रवात बन्ने दिशातर्फ अघि बढिरहेको भए पनि यसले नेपालमा ठूलो वर्षा वा लगातारको झरी गराउने सम्भावना नरहेको जानकारी दिनुभएको छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले विभागले उक्त प्रणालीको अवस्था र सम्भावित मार्गबारे निरन्तर निगरानी गरिरहेको तथा मार्गमा परिवर्तन भएर नेपालमा असर पर्ने अवस्था आएमा तत्काल जानकारी गराइने स्पष्ट पार्नुभयो ।
यसैबीच, हाल नेपालमा सक्रिय रहेको पश्चिमी न्यूनचापीय प्रणालीका कारण आइतबार देशका केही हिमाली तथा पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसमविद् ढकालका अनुसार विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने भए पनि ती क्षेत्रमा भारी वर्षाको भने कुनै सम्भावना छैन । त्यस्तै, लुम्बिनी प्रदेशका केही स्थानहरूमा, गण्डकी र कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा र बागमती प्रदेशका एक–दुई स्थानमा मात्र छिटपुट वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ ।
आइतबार बेलुकादेखि नै पश्चिमी प्रणाली क्रमशः कमजोर हुँदै जाने भएकाले वर्षाका गतिविधिहरू पनि घट्दै जानेछन् । आगामी दुई दिनसम्म मौसम सामान्यतया सफा रहने र त्यसपछिका पाँच दिनसम्म पनि वर्षाको सम्भावना अत्यन्त न्यून रहेको विभागले जनाएको छ । अहिले धान भित्र्याउने मुख्य सिजन चलिरहेकाले मौसमविद् ढकालले किसानहरूलाई मौसम पूर्वानुमानको जानकारी लिएर मात्र कृषि कार्य अघि बढाउन विशेष सुझाव दिनुभएको छ । आइतबार दिउँसो हुन सक्ने हल्का वर्षाले खेतमै रहेको नकाटिएको धानबालीमा खासै असर नपुर्याए पनि काटेर खेतमै सुकाउन राखिएको धानमा भने क्षति पुर्याउन सक्ने भएकाले सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभएको छ ।

सम्बन्धित खबर











