Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

त्रिभुवन विमानस्थलबाट साढे ५ किलो हेरोइनसहित भारतीय नागरिक पक्राउ, अन्तर्राष्ट्रिय लागुऔषध तस्कर नेटवर्कका योजनाकार

Advertisement800×200-1

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २२ करोड रुपैयाँ मूल्य बराबरको लागुऔषधसहित पक्राउ परेका भारतीय नागरिक अन्तर्राष्ट्रिय लागुऔषध तस्करी नेटवर्कका मुख्य योजनाकार रहेको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरोको विमानस्थल शाखाबाट खटिएको प्रहरी टोलीले गत कात्तिक २८ गते भारतको महाराष्ट्रस्थित पुणेका ५२ वर्षीय रेवाराज तिघारेलाई पक्राउ गरेको थियो। थाइल्यान्डबाट नेपाल आएका शङ्कास्पद यात्रुहरूको जाँच गर्ने क्रममा उनको लगेजमा रहेको बिरालो र खरायोको खानाको प्याकेटभित्र लुकाएर राखिएको अवस्थामा साढे ५ किलो सेतो हेरोइन फेला परेको हो।

ब्यूरोका अनुसार तिघारे यसअघि पनि नेपाललाई ट्रान्जिट बनाएर लागुऔषध भारत पुर्‍याउने कार्यमा संलग्न रहँदै आएका छन्। उनी यसअघि सन् २०२५ नोभेम्बर ४ र सन् २०२६ फेब्रुअरी २६ मा लाओसबाट नेपाल आएको देखिएको छ। पहिलो पटक हवाई मार्ग र दोस्रो पटक स्थलमार्ग हुँदै उनले लागुऔषध भारत पुर्याएको अनुसन्धानबाट खुलेको छ। यसपटक उनी लाओसबाट बैंकक हुँदै नेपाल प्रवेश गरेका थिए।

अनुसन्धानको दायरा फराकिलो बनाउँदै जाँदा उनले लाओसबाहेक जिम्बाब्वे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियासमेतको भ्रमण गरेको पाइएको ब्यूरोले जनाएको छ। प्रहरीले उनको साथबाट साढे ५ किलो सेतो हेरोइन, एक थान पासपोर्ट, एक थान मोबाइल र मेकानिकल इन्जिनियरको प्रमाणपत्र बरामद गरेको छ। बरामद गरिएको सेतो हेरोइनको नेपाली बजार मूल्य प्रतिग्राम ४० हजार रुपैयाँका दरले करिब २२ करोड रुपैयाँ हुन आउँछ। भारत पुगेपछि यसको कालोबजार मूल्य अझ धेरै हुने प्रहरीको अनुमान छ। ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ परेका तिघारेमाथि थप अनुसन्धान जारी छ। लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार सेतो हेरोइनको कारोबारमा दोषी ठहरिएमा १५ वर्षदेखि जन्मकैदसम्मको सजाय र पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर