Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

एमाले केन्द्रीय कमिटी बैठक मंसिर ५ मा, राष्ट्रिय भेला निर्वाचन तयारीमा केन्द्रित

Advertisement800×200-1

काठमाडौं । नेकपा (एमाले) ले मंसिर ५ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टीको राष्ट्रिय भेला र स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेलापछि केन्द्रीय कमिटी बैठक बस्ने गरी तालिका तय गरिएको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । एमाले नेताहरूका अनुसार बैठकमा आगामी स्थानीय तहको निर्वाचनको तयारी र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनेछ । बैठकका बाँकी एजेन्डा तय हुन बाँकी छन् ।

त्यसअघि मंसिर २ र ३ गते काठमाडौंको कार्की ब्यांक्वेटमा एमालेको राष्ट्रिय भेला हुँदैछ । करिब तीन हजार एक सय जना सहभागी हुने भेला स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रित रहने महासचिव शंकर पोखरेलले बताए । मंसिर ४ गते एमालेले स्थानीय तहका जनप्रतिनिधिको एकदिने राष्ट्रिय भेला आयोजना गर्दैछ । आचार्यका अनुसार एमालेबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि सहभागी हुने भेला बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सुरु हुनेछ ।

यसअघि असोज ५ देखि ८ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टीभित्रको विवाद थाती राख्दै राष्ट्रिय भेलामार्फत निकास खोज्ने निर्णय गरेको थियो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएपछि एमालेले पहिलोपटक राष्ट्रिय भेला र केन्द्रीय कमिटी बैठक गर्न लागेको हो । अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयतामा रहेकी भण्डारीको पुनरागमनपछि हुन लागेका यी छलफललाई पार्टीको आन्तरिक विवाद र आगामी निर्वाचन रणनीतिका दृष्टिले चासोका साथ हेरिएको छ ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर